बडादशैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर दुई लाख ३७ हजार जनाभन्दा धेरैले हवाई यात्रा गरेका छन् । विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दशैँको फूलपाति देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दशैैँको सात दिन अर्थात् असोज २४ गते फूलपातीदेखि पूर्णिमाको अघिल्लो दिन असोज ३० गतेसम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी दुई हजार नौ सय ४० उडान भएका छन् । यो दुईतर्फी उडानको संख्या हो ।
यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी ६ हजार आठ सय ५२ उडान सञ्चालन भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ । यसअघि यही असोज १४ गते एकैदिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो ।