News 24 Television
पार्टी कार्यालय बनाउन जग्गा दान लिनु ठीक होइन : विश्वप्रकाश शर्मा


सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरुले आफैँले नै बनाउनुपर्ने बताएका छन् । सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले गरेको सहयोगको महामन्त्री शर्माले विरोध गरेका हुन् । एक अर्ब रुपैयाँभन्दा बढी मुद्रा पर्ने जग्गा खरिद गर्ने र भवनसमेत बनाइदिने घोषणा गरिएको विषय चर्चा र विवादमा रहेको भन्दै यसको जवाफ नेकपा एमालेले दिनुपर्ने शर्माले बताए । 

व्यवसायीहरुले राजनीतिक दलहरुलाई सानो सहयोग गर्नेकुरा राम्रो भएपनि एक अर्ब भन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको शर्माले बताए । राजनीतिक दल र निजी क्षेत्रबीचको सम्बन्धको सीमानाका बारेमा सोच्नैपर्ने अवस्था देखिएको उनको भनाइ छ । पार्टी कार्यालय निर्माणका लागि ठूलो रकमको विषय आउँदा स्वभाविक रुपमा एमाले, एमाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले जवाफ दिनुपर्ने दायित्व रहेको पनि शर्माको जिकिर छ । 

प्रधानमन्त्री स्वयं उपस्थित भइ एमालेले जग्गा र भवन पनि बनाइदिने गरी भएको घोषणामा प्रश्न उठेको उनले भने न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यो प्रश्न नेकपा एमालेलाई मात्रै नभइ राजनीतिप्रति प्रश्न उब्जिएको बताए । कस्तो राजनीति र कस्तो राजनीतिक दलहरु बनाउन चाहेको हो भन्ने प्रश्न उठेको उनको जिकिर छ । आफ्नो दलको कार्यालय आफ्नै पार्टीका नेता÷कार्यकर्ता मिलेर बनाउनुपर्ने शर्माको सुझाव छ ।  राजनीतिक दलले पार्टी कार्यालय बनाउँदा पार्टीको परिवारबाट बनाउने कुरा नै बढी अपनत्व हुने शर्माको भनाइ छ । 

महामन्त्री शर्माले सबैको मन गाँसेर र साथमा लिएर पार्टी कार्यालय बनाउन एमालेलाई सुझाव दिए । प्रधानमन्त्री ओलीले नागरिक पंक्तिलाई यसबारेमा स्पष्ट पार्न जरुरी रहेको समेत शर्माको भनाइ छ । दशैँको नवमीको दिन एमालेको नयाँ केन्द्रिय कार्यालयको शिलान्यास प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।  एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका गुरुङले भवन निर्माण गर्ने जिम्मेवारी समेत लिएका छन् । पार्टी कार्यालय निर्माणमा व्यवसायीको दान लिएपछि एमालेका नेता÷कार्यकताहरुले नै नेतृत्वको विरोध गरेका छन् । अधिकांशले जग्गा फिर्ता गर्न र आफैँ पार्टी कार्यालय निर्माण गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update