झापा–परम्परागत खेती प्रणालीबाट लगानी उठाउनै समस्या हुन थालेपछि पछिल्लो समय झापाका किसानहरु केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । केरा खेतीमा अन्यबालीमा जस्तो बढी रोग र किरा नलाग्ने अनि आम्दानी समेत राम्रो हुने भएपछि अहिले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न पनि सजिलो र औषधी एवम् गोडमेल लगायतको पनि झण्झट नहुने हुँदा यसतर्फ किसानहरु आकर्षित भएका हुन् ।
झापामा विगत तीनवर्ष यता केराको व्यावसायिक खेती बढेको पाइएको छ । अहिले जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको छ । जिल्लाका मेचीनगर, गौरादह, भद्रपुर, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । ज्ञान केन्द्रका अनुसार यहाँ वार्षिक ३८ हजार १९७ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । झापामा १० कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफल सम्ममा किसानले व्यक्तिगत तथा सामुहिक रुपमा केराको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्न पनि सजिलो धान, मकै लगायतका बालीभन्दा आम्दानी राम्रो हुने किसान दिलिप शाहले बताए । त्यसैले पनि आजभोली धान खेती मासेर समेत केरा खेतीतर्फ आकर्षण बढेको अर्का किसान केशवबहादुर राउत बताउँछन् । हुँदा धान खेत मासेर केराखेती सुरु गरेको किसानको भनाइ छ । –
झापा गाउँपालिकाका–३ का चन्द्रप्रसाद बस्नेतले पाँचवर्ष अघि इजरायलबाट फर्केर ३० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आएका छन् । उनीसंगै हाल उक्त पालिकामा १५ बढी किसानले व्यवसायिक केरा खेती गरिरहेका छन् । यता, श्रीगणपति एग्रिकल्चर प्रा लि ले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केरा खेती गरिरहेको छ । भद्रपुर–५ मा २० बिगाह र गौरादह–५ मा ५७ बिगाह गरी ६७ बिगाह जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती सञ्चालनमा छ । त्यस्तै मेचीनगर–१२ का राकेश प्रसाईले धाइजनमा तथा मेचीनगर–८ का पर्शुराम गिरीले सरस्वती टोलमा तीन बर्षदेखि व्यवसायीक केरा खेती गर्दै आइरहेका छन् । बिगतमा अन्य थुप्रै खेतीबाली लगाइएको भएतापनि पछिल्लो समय लगाएको केराखेतीबाट भने आफुहरु सन्तुष्ट रहेको किसान मनकुमार अधिकारीको भनाइ छ ।
स्वास्थ्यको दृष्टिकोणले समेत केरा बहु उपयोगी फल मानिन्छ । केरामा शरीरलाई आवश्यक पर्ने भिटामीन ए, बी र सी लगायतका पौष्टिक तत्व पाइने गरेको छ । तर, भारतबाट बिषाधीयुक्त केरा छ्यापछ्याप्ती नेपाली बजारमा आँउदा उपभोक्ता त्यहि प्रयोग गर्न बाध्य छन् । जिल्लामा अधिकांश केरा खेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका हुन् । उनीहरू परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर केरा खेतीमा लागेको बताउँछन् । त्यसैले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न थप प्रेरित गर्दै उनीहरूले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण राज्यले सहजीकरण गर्न आवश्यक छ ।