News 24 Television
सिन्धुपाल्चोकमा कफि उत्पादनमा छलाङ

सिन्धुपाल्चोक–सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका ६ का श्रीराम बुढाथोकीको घर छेउमा यत्तिकै उम्रिएका कफीका दुई बोटले उत्पादन दिएपछि त्यसको बिक्री पनि भयो । एकै बोटमा झण्डै दस वर्षसम्म लगातार करिब १५ केजीका दरले कफी उत्पादन भएपछि बुढाथोकी उत्साहित बने अनि व्यवसायिक कफी खेती गर्ने सोच बनाए । त्यत्तिकै उम्रिएका बोटबाट आम्दानी भएपछि अहिले उनी कफी खेती गर्न विज्ञहरुसँग सुझाव लिइरहेका छन् । घर नजिकै बाँझो बसेर त्यतिकै खेर गइरहेको बारीलाई प्रयोगमा ल्याउन अहिले उनी कम्तीमा एक सय पचास बोट कफी लगाउने तयारी गरिरहेका छन् । उमेरको गणितले सात दसक कटेका बुढाथोकी अहिले कफी सम्बन्धी अभिमुखीकरण, अन्र्तक्रिया र तालिमहरुमा सहभागी हुन्छन् ।

बुढाथोकीको जस्तै चौतारा साँगाचोकगढी नगरपालिका १० कि कल्पना रानामगर पनि व्यवसायिक कफी खेतीतर्फ आकर्षित भएकी छन् । उनले पनि परीक्षणको रुपमा रोपेको कफीका बोटबाट आम्दानी हुन थालेपछि अहिले व्यवसायिकरुपमै कफि खेती गर्न थालेकी छन् । कल्पनाले अहिले आफ्नो बारीमा एक सय बोट कफीका बिरुवा रोपेकी छन् । अघिल्लो वर्ष रोपेको कफीले अब एक वर्षपछि उत्पादन दिने उनको विश्वास छ । 

एकपटक रोपेपछि चालीस वर्षसम्म उत्पादन दिने भएकाले पनि किसानले कफी खेती रोजेका हुन् । पछिल्लो समय जिल्लामा किसानहरुलाई बगैंचा सुधार, आम्दानीमा बढावा हुने उपाय, रोग लागेमा त्यसको समाधानबारे जानकारी दिन थालिएपछि कफी खेतीमा किसानको झुकाव बढेको हो । सिन्धुपाल्चोक सदरमुकाम चौतारा आसपास अहिले अरनीको कृषि तथा पशुपालन फर्मले किसानहरुलाई व्यवसायिक बनाउन सहजीकरण गरिरहेको छ । फर्मले किसानलाई बिरुवा उपलब्ध गराउनेदेखि कफी खरिद गरिदिने समेत गर्दै आएको व्यवस्थापक दीपेन्द्र घलेको भनाइ छ । 

कफी खेतीका कारण गाउँमा बाँझो बसेको जमिनको सदुपयोग समेत भएको छ । झण्डै डेढ दसकदेखि सिन्धुपाल्चोकमा उत्पादित कफी जापान, कोरिया, अष्ट्रेलिया लगायतका देशमा निर्यात हुँदै आएको छ । कफी बहुवर्षे नगदे बाली भएकाले लामो समयसम्म उत्पादन दिने हुँदा यसलाई किसानको पेन्सन खेती पनि भन्ने गरिन्छ । कफीका लागि सिन्धुपाल्चोकको भूबनोट उत्तम रहेकाले यहाँ खेती फस्टाउने राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कृषि प्राविधिक एकराज सञ्जेल बताउँछन् ।  

बजारीकरणको पनि समस्या नहुने र अन्य बालीकोे तुलनामा मेहनत पनि कम गर्नुपर्ने भएकाले कफी प्रति किसानको आकर्षण वढेको हो । सिन्धु कफी सहकारी संघको  तथ्याङ्रक अनुसार सिन्धुपाल्चोकमा सहकारीमा आवद्ध ७ सय ४३ का बाहेक जिल्लाभर २१ सय ५० जना कृषकले १ सय २४ हेक्टर जमिनमा कफि खेति गरीरहेका छन् । यो वर्ष सिन्धुपाल्चोकबाट साढे ३० टन कफी उत्पादन भएको छ । एक पटक रोपेपछि वर्षौसम्म आम्दानी दिने कफी खेतीप्रति सिन्धुपाल्चोकमा किसानको आकर्षण बढ्दै गएको छ । आफ्नै प्रयासमा सिन्धुपाल्चोकका किसानहरु समूहगत र ब्यक्तिगत रुपमै खेती गर्दे कर्फि खेतीतर्फ लागेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update