News 24 Television
लुम्बिनी गुरुयोजनामा सधैंको अलमल

रुपन्देही–एउटा विकास आयोजना सम्पन्न हुन कति समय लाग्ला ? पाँच, १०, १५ वा २० वर्ष ? तर, नेपाललाई विश्वमै चिनाउने गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकासको गुरुयोजना भने करिब ५० वर्षदेखि अधुरै छ । पर्याप्त बजेट नहुनु, सरकार र लुम्बिनी विकास कोषको ध्यान गुरुयोजना पूरा गर्नभन्दा लाभ र गुरुयोजना विपरीतका काम गर्न उद्धत हुनुले पनि यति लामो समयसम्म पनि विश्वमाझ मुलुकलाई चिनाइरहेको लुम्बिनीको एकीकृत विकासको काम अधुरै छ । 

लुम्बिनी क्षेत्रको संरक्षण र योजनाबद्ध विकास गर्न भन्दै सन् १९७८ मा लुम्बिनी गुरुयोजना शुरु गरिएको थियो । जापानी बास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले बृहतर लुम्बिनीको विकास गर्न भन्दै गुरुयोजनाको खाका तयार गरी सरकारलाई थमाएका थिए । त्यसपछि १४ वर्षमा सक्ने लक्ष्य भएपनि सरकार र लुम्बिनी विकास कोषको प्रतिबद्धता र जिम्मेवारी बोधको अभावले गुरुयोजना भने अझै सम्पन्न हुन सकेको छैन । उल्टै कोष र मन्त्रालयबाट नियम विपरीत प्लट वितरण, गुरुयोजनाले नसमेटिएका ठाउँमा संरचना बनाउने काम भइरहेको छ । सरकारै पिच्छे पदाधिकारी फेरबदल हुने र विभागीय मन्त्रीहरुले गुरुयोजना पूरा गर्न खासै चासो नदिने, कर्मचारीमा जिम्मेवारीपनको अभाव, राजनीतिक खिचातानी, जवाफदेही नहुनु जस्ता समस्या लुम्बिनीमा छन् । पछिल्लो समय त लुम्बिनीमा पर्याप्त बजेट नहुँदा गुरुयोजना अनुसार भइरहेका काम पनि अलपत्र परेको लुम्बिनी विकास कोषका सदस्य–सचिव सानुराजा शाक्य बताउँछन् । 

गुरुयोजनामा अहिलेसम्म करिब १२ अर्ब भन्दा बढी रुपैयाँ खर्च भइसकेको छ । गुरुयोजनाको अझै करिब १२ प्रतिशत काम बाँकी छ । यसका लागि ७ अर्ब रुपैयाँ थप आवश्यक पर्छ । पछिल्लो पटक करिब चार अर्बका चारवटा बहुवर्षीय ठेक्काको काम भइरहेको छ । जसमा मुख्य र भित्री सडक, ढल निर्माण, हरियाली, विद्युतीकरण, गेट निर्माण, सुन्दरीकरण लगायतका काम भइरहेका छन्् । अझै, गुरुयोजना क्षेत्रभित्रबाट बग्ने तीनवटा नदीको व्यवस्थापन, उथान्ता अडिटोरियन हल, ५ वटा प्रशासनिक भवन, स्वास्थ्य चौकी लगायतका थुप्रै काम बाँकी छन् । पछिल्लो पाँचवर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा ३–४ प्रतिशत मात्र थप सम्पन्न गरिएको छ । यसमा पर्याप्त बजेट नहुनु पनि एउटा कारण हो । सरकारले चालु आर्थिक वर्षका लागि जम्मा ४४ करोड रुपैयाँ विनियोजन गरेको छ । यो हिसाबले काम  हुँदा गुरुयोजना सम्पन्न गर्न अझै कतिवर्ष लाग्छ यकिन छैन । स्थानीय जनप्रतिनिधिले भने आफूहरुलाई पनि समेटेर लगेमा गुरुयोजना सम्पन्न गर्न थप सहज हुने बताउँदै आएका छन् ।

वास्तुकलाविद् टागेले बनाएको गुरुयोजना अनुसार एक हजार एक सय ५५ बिगाह क्षेत्रफलमा पवित्र उद्यान, मोनाष्ट्रिक जोन र न्यु लुम्बिनी भिलेजका रुपमा लुम्बिनीको विकास गरिने योजना छ । नेपाल सरकार, विभिन्न दातृ निकाय र संघसंस्थाहरुले लुम्बिनीमा अर्बौँ लगानी गरेका छन् । तर, हरेक वर्ष गुरुयोजना पूरा गर्ने बताउँदै आएको सरकारले यसलाई मूर्तरुप दिन भने सकेको छैन । जसले गर्दा विश्वमा नेपाललाई चिनाउने गौतम बुद्धको जन्मस्थलमा विकासका नाममा सञ्चालित गुरुयोजनाको यो हविगतले अन्तर्राष्ट्रिय क्षेत्रमै ढिलासुस्तीको चरम नमुना नेपालले प्रस्तुत गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update