News 24 Television
राष्ट्रबैंकको प्रतिवेदनमा सुधारियो देशको अर्थतन्त्र

नेपाल राष्ट्र बैंककले मंगलवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाली अर्थतन्त्रका बाहय सूचकहरु मजबुत देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा नेपालमा २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँँ बराबरको रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्रै १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्रबैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार साउनमा १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । रेमिट्यान्सको यो रकम अघिल्लो आर्थिक वर्षको दुई महिनाको तुलनामा १५.२ प्रतिशतले बढी हो । 

विदेशमा रोजगारका लागि जानेको संख्या बढेको र चाडपर्वका बेला विदेशमा रहेका नेपालीले धेरै रकम पठाउने भएकाले यो पछिल्लो दुई महिनाको रेमिट्यान्समा वृद्धि भएको हो । यो दुई महिनाको अवधिमा ७६ हजार ४ सय ८५ जनाले वैदेशिक रोजगारका लागि नयाँ श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५ सय ८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या क्रमशः ७४ हजार ४ सय ५५ र ३२ हजार ४ थियो । यो दुई महिनामा अघिल्लो वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या समेत वृद्धि भएको छ । यस्तै दुई महिने समीक्षा अवधिमा चालु खाता ४९ अर्ब ६९ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता २३ अर्ब ९७ करोडले बचतमा रहेको थियो । त्यसैगरी समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब २० करोड कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २ अर्ब ७१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर ८५ करोड ८ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ३ अर्ब रहेको थियो । 

यो दुई महिनामा शोधान्तर स्थितिमा पनि शतप्रतिशत सुधार भएको छ । समीक्षा अवधिमा शोधान्तर स्थिति १ सय १ अर्ब ७७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधान्तर स्थिति ५५ अर्ब १० करोड बचत थियो । विदेशी विनियम सञ्चिति पनि यो दुई महिनामा अहिलेसम्मै उच्च रहेको छ । कुल विदेशी विनिमय सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ बराबर छ । यो सञ्चितिले मुलुकले १६.८ महिनाको वस्तु आयात धान्न सक्ने राष्ट्र बैंकको प्रतिवेदनमा छ । चालु आर्थिक वर्षको भदौँ मसान्तसम्म धितोपत्र बजारको पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । 

अघिल्लो वर्षका भदौ मसान्तसम्म धितोपत्र बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड मात्रै थियो । राष्ट्रबैंकले सुधार भएको यो प्रतिवेदन सार्वजनिक गरेपनि देशको आन्तरिक अर्थतन्त्र भने अझै सूस्त नै रहेको छ । दशैंमा आन्तरिक अर्थतन्त्रमा चहलपहल बढ्ने अपेक्षा राखिएपनि अनुमान अनुसार देशको अर्थतन्त्रमा खासै सकरात्मक चहलपहल देखिएन । अझै व्यवसायीहरु नयाँ लगानी गर्न हिच्किचाइरहेका छन् भने ठूला आयोजनाहरु निर्माण सम्पन्न गरेवापत् निर्माण व्यवसायीले ठूलो रकम भुक्तानी नपाउँदा त्यसको असर सर्वसाधारण नागरिकसम्म देखिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update