News 24 Television
विना धितो ऋण खोज्दै व्यवसायी

काठमाडौं–साना तथा मझौला व्यवसायीहरुले न्यून व्याजदरमा विना धितो ऋण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । कोभिड महामारी पछिको आर्थिक मन्दीको चपेटामा परेका साना तथा मझौला व्यवसायले गति लिन नसकेको भन्दै उनीहरुले बिनाधितो न्युन व्याजदरमा ऋण उलब्ध गराउन सरकारसँग माग गरेका हुन् । कच्चा पदार्थको अभाव हुँदा आवश्यक सामग्री उत्पादनमा कठिनाई भएको र उत्पादित सामग्रीले पनि बजार पाउन नसक्दा व्यवसायीहरुले चरम नोक्शानी व्यहोर्नुपरेको गुनासो साना तथा मझौला व्यवसायीले गरेका छन् । 

साना तथा मझौला व्यवसाय महासंघकी अध्यक्ष इनु पौडेलले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको साना तथा मझौला व्यवसाय विश्व आर्थिक मन्दीपछि उकासिन नसकेकाले सरकारले बिनाधितो ऋण उपलब्ध गराएर व्यवसायीलाई विस्थापित हुनबाट जोगाउनुपर्ने बताइन् । पुरानै लयमा व्यवसाय फर्किन नसकिरहेको अवस्थामा मनसुनजन्य बाढी तथा डुबानका कारण तयारी सामग्रीको साथै कच्चा पदार्थमा ठूलो नोक्शानी भएको उनको भनाइ छ । 

राज्यका विभिन्न कर प्रणालीमा सरकारले साना तथा मझौला व्यवसायीलाई न्याय गर्नुपर्ने अर्का व्यवसायी अर्का व्यवसायी कर्णबहादुर विश्वकर्माको जिकिर छ । व्यवसाय कर तिर्नेलाई नै घरबहाल कर पनि तिराउन नहुने उनको तर्क छ । 

व्यवसायीलाई आफ्नो उत्पादनको बजार व्यवस्थापन र सर्वसुलभ कच्चा पदार्थको उपलब्धताको विषय नै मुख्य चुनौति रहेकाले त्यसतर्फ प्रदेश सरकारले गम्भीर चासो राखेको वागमती प्रदेशकी सांसद सकुन्तला श्रेष्ठको भनाइ छ । कच्चा पदार्थ सहज उपलब्ध गराई उत्पादित सामानको बजार व्यवस्थापनको प्रवन्ध मिलाउने स्थायी संयन्त्र निर्माणको लागि आफूहरुले प्रदेश सरकारलाई पनि दबाब दिइरहेको उनले बताइन् । 

सरकारले साना तथा मझौला व्यवसायीका लागि विना धितो १५ देखि १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको भएपनि व्यवसायीले यो सुविधा सहज रुपमा प्राप्त गर्न सकेका छैनन् । व्यवसायीले बैकले विभिन्न किसिमका झन्झटिला प्रावधान राखेको गुनासो गर्दै आएका छन् । सरकारले एउटा नीति बनाउने अनि बंैकहरुले त्यसलाई अनेक बहानामा कार्यान्वयन नगर्ने भएकाले पनि देशमा कुनै पनि व्यवसाय सुरु गर्न साना तथा मझौला व्यवसायीलाई निकै गारो छ । यसतर्फ भने सरकारले गम्भिर नीति बनाएर यतिकै छोड्नेभन्दा पनि कार्यान्वयन के कसरी भइरहेको छ वा भइरहेको छैन, त्यसमा समेत ध्यान दिन आवश्यक छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update