News 24 Television
ब्यापारीको पार्टी बन्दै एमाले

नेपालमा नामुद ब्यापारीका रुपमा कहलिएका छन्, मीनबहादुर गुरुङ । उनको काठमाडौंसहित देशैभर गरी २५ वटा भाटभटेनी सुपरस्टोर छन् । ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुछिएका गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक केन्द्रीय कार्यालय भवन बन्दैछ, त्यो पनि गुरुङले नै निर्माण गरिदिँदैछन् । त्यसको लागत कति खुलेको छैन तर ब्यापारीबाट सहयोग लिएर पार्टी कार्यालय बनाउन लागिएकोमा एमालेभित्रैबाट आलोचना भइरहेको छ । 

भाटभटेनी सुपरमार्केटका सञ्चालन मिनबहादुर गुरुङ पछिल्लो समय आफूले दान दिएको १० रोपनी १४ आना जग्गामा एमालेको सुविधा सम्पन्न भवन बनाइने विषयले पुनः चर्चामा छन् । गुरुङ ललिता निवासको सरकारी जग्गा प्रकरणमा पनि मुछिएका ब्यक्ति हुन् । ललिता निवासमा मीन बहादुर र उनका नातेदारहरुको नाममा झण्डै २९ रोपनी जग्गा भेटिएको थियो । ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा उनी पटक पटक पक्राउ परेका छन् । गुरुङलाई विशेष अदालतका न्यायाधीसहरु खुशीराम थारु, रामबहादुर थापा, रितेन्द्र थापाको इजलासले दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवाना फैसला सुनाएको थियो

। पछिल्लो पटक २०८० भदौमा जिल्ला अदालत काठमाडौंको आदेशमा २ करोड ४६ लाख धरौटी जम्मा गरी छुटेका थिए । अनुसन्धानका क्रममा गुरुङ पक्राउ पर्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली तत्कालिन सरकारमाथि निकै आक्रोशित थिए । उनै गुरुङले काठमाडौंको कीर्तिपुरमा एमालेलाई उपलब्ध गराएको जग्गामा उनैले नै अत्याधुनिक पार्टी कार्यालय भवन बनाइदिने घोषणा गरेपछि प्रधानमन्त्री ओलीले भवनको शिलान्यास गरिसकेका छन् । 
 
तर ब्यापारीको सहयोगमा पार्टी कार्यालय निर्माण गर्न लागिएकोमा भने एमालेका नेता कार्यकर्ताहरुले नै आलोचना गरिरहेका छन् । एमाले स्थायी समिति सदस्य समेत रहेकी डा. विन्दा पाण्डेले सामाजिक सञ्जालमा नै पार्टी कार्यालय निर्माण गर्न लागिएकोमा आलोचना गरेकी छन् । एमालेको निर्णयलाई उनले साढे ५ लाख पार्टी सदस्यको शीर झुकाउने तथा २८ लाख मतदाताको अपमान गर्ने कदम भनेकी छन् ।  

‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो । दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’ –विन्दाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छन् । एमाले थुप्रै नेता कार्यकर्ताहरुले यस्तो कदमले पार्टीलाई लज्जित बनाएको बताएका छन् । तर विन्दाले जस्तो खुलेर विरोध गर्न भने सकिरहेका छैनन् । 

एमाले महासचिव शंकर पोखरेलले भने आधुनिक नेपाल निर्माणको सन्दर्भमा पार्टीलाई आधुनिक भवन खाँचो पर्ने बताइरहेका छन् । जसका लागि ब्यापारी गुरुङ पार्टीको सारथि बनेका छन् । गुरुङले ९ रेक्टरको भूकम्प धान्ने गरी सबै विपद्लाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाइदिने भन्दै आगामी वर्ष २०८२ को घटस्थापनामा भवन उद्घाटनको निम्तो समेत दिइसकेका छन् ।  

किन बनाउन लागियो एमालेको अत्याधुनिक भवन ? 
२०४६ सालमा बहुदलीय पुनःस्थापनापछि एमालेले काठमाडौंको बल्खुमा सुविधा सम्पन्न भवन बनाएको थियो । जुन मदननगर बल्खुका नामले स्थापित थियो । पहिलो पटक कम्युनिस्ट पार्टीको आलिसान भवन भनी चर्चा भएको थियो । त्यही भवनमा नै एमालेले कुनैबेला कार्लमाक्र्स र लेलिनको तस्बिर हटाएर आलोचित भएको थियो । एमालेको त्यो भवन ७२ सालको महाभूकम्पले क्षति भयो । कार्यालय क्षति भएपछि एमालेले ९ वर्ष विभिन्न ठाउँमा भाडामा कार्यालय सञ्चालन गर्दै आएको छ । हाल ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा एमाले केन्द्रीय कार्यालय छ । यो कार्यालय पनि धोवीखोला र बाग्मतीको पानीले डुबानमा पर्ने गरेको छ । ४६ सालपछि नै काठमाडौंमा आफ्नो विरासत कायम राखेको एमालेका लागि पार्टीकै स्वामित्वको केन्द्रीय आवश्यकता छ नै । तर एमाले स्थायी कमिटी सदस्दस्य डा. विन्दाले भनेजस्तै यसरी विवादित ब्यापारीको निगाहमा निर्माण गरिने भवनले एमालेको स्वाभिमानमा चोट पुग्नुका साथै दीर्घकालमा पार्टीकै लागि आत्मघाती सावित नहोला भन्न सकिदैन । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update