News 24 Television
न्युजिल्याण्ड महिला टी–को सेमिफाइनलमा

पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत समूह चरणबाटै बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट भयो । सेमिफाइनलमा पुग्न पाकिस्तानले खेल १० ओभरभित्रै जित्नुपर्ने बाध्यता थियो । तर पाकिस्तान ५६ रनमै अलआउट हुन पुग्यो । 

यदी पाकिस्तानले जितेको भए भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना थियो । पाकिस्तानका दुई जनाबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडिन् । ओपनर आलिया रियाज शून्य, इरम जावेद ३ र सदफ शम्स २ रन बनाएर आउट भएकी थिइन् । त्यसअघि ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । 

समूह ‘ए’बाट साविक विजेता अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘बी’बाट इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये तीन वटै टोलीको सेमिफाइनल सम्भावना कायमै छ । समूह चरणको अन्तिम खेलमा आज इंग्ल्यान्ड र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् । यस खेलपछि समूह ‘बी’बाट सेमिफलाइनलमा पुग्ने बाँकी २ टोलीको टुङ्गो लाग्ने छ । ०००

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update