News 24 Television
दशैँ मनाउन गएकाहरु फर्कन थाले

आश्विन शुक्ल त्रयोदशीका दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम जारी छ । शनिबार विजयादशमीका दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आइतबारदेखि आफन्त तथा मान्यजनको हातबाट टीका तथा जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । 

नौ दिनसम्म पूजा–आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । आज चौथो दिन पनि सोही क्रमले निरन्तरता पाएको छ । मान्यजन टाढाटाढा हुने आफन्त आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आफन्तका घरमा टीका लगाउन जानेहरुको कारण काठमाडौंका सडकमा चहलपहल बढेको छ । 

दशैंको मुख्य दिन घरपरिवारका मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद ग्रहण गरेसँगै आफन्तकोमा टीका ग्रहण गर्न जाने क्रम बढेकाले सडकमा चहलपहल बढेको हो । दशैं मनाएर काठमाडौं उपत्यका भित्रिने यात्रु र सवारीसाधनको संख्यामा समेत वृद्धि भएको छ । आजदेखि सरकारी कार्यालय खुल्ने भएकाले सरदमुकाम चहलपहल बढेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घटस्थापनादेखि अष्टमीसम्म दशैं मनाउन घर गएका यात्रु दशैंको टीका लगाएर उपत्यका भित्रन थालेको जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update