News 24 Television
छ्या थोरङ्ला पास र पीक कस्तो फोहोर ?

कास्की–विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास गर्दा जोसुकैमा पनि खुशीको कुनै सिमा रहन्न । तर पछिल्लो समय पर्यटकहरुले नै फ्यालेको फोहोरका थुप्रो जताततै छरपस्ट भएकाले प्रकृति प्रेमीहरुका लागि थोरङ्ला पदमार्गको फोहोर टाउको दुखाइको विषय बनेको छ । 

वरिपरि पुरै घुमेर हेर्दा जताततै हिमाल नै हिमाल, आहा ! लाग्छ धर्तीको स्वर्ग यही हो । पुरै ३६० डिग्री नै हिमाल, यो देख्दा हुने रोमाञ्चक अनुभव साँच्चिकै कस्तो होला है भन्ने लाग्यो होला तपाँईलाई । यो दृष्य हो विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पिक र थोरङला पासको । समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौं पर्यटकहरु वर्षेनी नेपाल आउँछन् । त्यस्तै ६ हजार १ सय मिटर उचाईमा रहेको थोरङ हिमचुली पनि आरोहीहरुको रोजाईको गन्तव्य हो । लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास गरेर मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । 

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । तर अन्नपूर्ण पदयात्राको थोरङ्ला पास पास गर्दा देखिने नराम्रो र  चित्त दुख्ने दृष्य हो यसरी छरपस्ट फालिएका फोहोर, अनि एक ठाँउमा राखिए पनि वर्षौ देखी उठ्न नसकेको फोहोरका थुप्रोहरु यसै छन् । जसका कारण एउटा विश्व चर्चित पदमार्ग दुर्गन्धीत मात्र बनेको छैन, त्यसले थोरङला पासको मनोरम दृष्यलाई खल्लो बनाइदिएको पदयात्री प्रशान्त गिरी दुखेसो पोख्छन् । 

हुन त यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत संरक्षित क्षेत्र भित्र पर्छ । तर एक्यापले शुल्क उठाउने बाहेक केही नगरेको आरोप पनि लाग्ने गरेको छ । नलागोस् पनि कसरी यति विघ्न फोहोर देखिएपछि । थोरङ पास र थोरङ हिमचुली आरोहण नेपालका अन्य हिमचुलीभन्दा  तुलनात्मक हिशावले सहज भएकाले वर्षेनी हजारौं पर्यटक यहाँ पुग्छन् । तर फोहोर व्यवस्थापनमा समस्था देखिएकाले हाम्रा हिमाली क्षेत्रबारे गलत सन्देश जाने हिमाल आरोही तथा अन्तराष्ट्रिय माउन्टेन गाईड गेल्जे शेर्पा बताउछन् । 

पछिल्लो समय अन्नपूर्ण चक्रिय पदमार्गमा विदेशी पर्यटक संगसंगै नेपाली पदयात्रीको संख्या पनि निक्कै बढेको र नेपालीहरुमा फोहोर व्यवस्थापनबारे सचेतना नहुँदा फोहोर बढेको टान गण्डकीका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीको भनाइ छ । 

अहिले मनाङसम्म मोटर बाटो पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि त भएको छ नै तर विदेशी पर्यटकको लागि भने पदमार्ग छोटिन गएको छ । यो संगसंगै पर्यटकहरुमा सचेतनाको कमि र जिम्मेवार निकायले फोहोर व्यवस्थापन गर्न नसक्दा विश्वप्रशिद्द थोरङला पासको पदयात्रा अपवित्र बन्दै गएको छ । यसबारे बेलैमा जागरुक नहुने हो भने हाम्रा हिमश्रृंखला बारे विश्वभर नकरात्मक सन्देश जाने निश्चित छ । 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update