News 24 Television
वर्षाले कृषिमा कति क्षति ? 

काठमाडौं–असोज दोस्रो साता गएको अविरल बर्षाबाट सबैभन्दा बढी कृषि क्षेत्र प्रभावित भएको छ ।  बर्षा र त्यसबाट आएको बाढीका कारण धान खेतीका साथै तरकारी, फलफूल तथा पशुपालनमा करीव ६ अर्वको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । किसानले धान थन्काउने तयारी गरिरहेको वेला भएको बैमोसमी बर्षा र डुवानको कारण सबैभन्दा बढी क्षति धान बालीमा भएको हो । 

कृषि मन्त्रालयले गरेको प्रारम्भिक अध्ययन अनुसार यसपटक असोज दोस्रो सातामा भएको अविरल वर्षा र बाढी पहिरोबाट सबैभन्दा बढि नोक्सानी धान खेतीमा भएको छ । धान खेतीमा मात्र ३ अर्व रुपैयाँभन्दा बढीको क्षति भएको कृषि मन्त्रालयले अनुमान गरेको छ । त्यसैगरी दशैको लागि तयार गरिएको तरकारी, फलफूल, माछा तथा पशुपालनमा तर्फ करीव ३ अर्व रुपैयाँ बराबरकै क्षति भएको अनुमान गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघका अनुसार बाढी र डुवानको कारण बागमति, गण्डकी र मधेश प्रदेशको धान बालीमा बढि क्षति भएको छ । भित्र्याउनै लागेको बेला अन्नबालीमा क्षति पुग्दा कृषिमा निर्भर रहेका किसान सबैभन्दा बढि प्रभावित खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । 
 
मन्त्रालयले गरेको धान बालीको क्षतिको अनुमान प्रारम्भिक मात्रै हो । बागमति प्रदेशमा काभ्रे, ललितपुर, सिन्धुपाल्चोक, नुवाकोट धादिङ, मकवानपुर, चितवन, सिन्धुली, दोलखा र पूर्वी पहाडी जिल्लाको धान वाली बढी प्रभावित भएका छन् । कृषि मन्त्रालयले र सम्वन्धित पालिकाहरुले बिस्तृत रुपमा अध्ययन नगरेको हुदाँ क्षतिको विवरण निकै बढ्ने राष्ट्रिय कृषक समूह महासंघले जनाएको छ । नेपाल डेरी एशोसिएसनका अनुसार बर्षा र बाढीको कारण सडक राजमार्ग क्षतिग्रस्त हुदाँ किसानले उत्पादन गरेको दुध बजारसम्म पुर्याउन कठिनाई भयो । बाढी प्रभावित क्षेत्रका साना ठुला गरी १९ वटा डेरी उद्योगहरु प्रभावित भएको नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए । 

सरकारले बैक तथा वित्तीय संस्था, सहकारी लगायतका संस्थाहरुबाट कर्जा लिएर कृषि तथा पशुपालनमा रहेका किसान तथा ब्यवसायी अहिलेको अवस्थामा बैकको कर्जा तथा साँवा बुझाउन नसक्ने अवस्थामा पुगेको किसानका संघ संस्थाहरुको गुनासो छ । त्यसैगरी सरकारले कृषि वीमालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नसक्दा कृषि क्षेत्रको नोक्सानीको क्षतिपूर्ति किसानले पाउन नसकिरहेको राष्ट्रिय खाद्य बैंक लिमिटेडका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती गुनासो गर्छन् । 

बाढी तथा पहिरोको कारण कृषि क्षेत्रमा भएको हानी नोक्सानीको कारण गम्भीर खाद्य संकट र मूल्यवृद्धि हुन सक्ने गम्भीर अवस्था छ । सरकारले मुलुकको कृषि क्षेत्रमा भएको नोक्सानीको तत्काल बिवरण तयार गरेर तत्काल उद्धार र राहतको कार्यक्रम प्रभावित कृषक समक्ष तत्काल पुर्याउनु सक्न पर्छ । 
 

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update