News 24 Television
दशैंको टीका आजपनि जारी

काठमाडौं–आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् । 

आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन बडादशैं पर्व भव्यरूपमा मनाउने प्रचलन रहेको छ । काठमाडौंको असनका बासिन्दाले आज विजयादशमीको टीका थाप्दैछन् । हरेक वर्ष असोज शुक्ल एकादशीका दिन असनका स्थानियबासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाउने गर्छन् । देशका अरू सबैजसो ठाँउका शनिबार नै देवी विसर्जन गरेर दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापिन्छ भने असनका बासिन्दाले आज टीका थाप्दैछन् । 

आज नै असनमा तुलाधर समुदायको सबैभन्दा कान्छो कुमार बालकको अगुवाइमा खड्ग जात्रा निकालिने गर्छन् । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी–नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ । यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्ने पनि धार्मिक विश्वास छ । ०००

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update