News 24 Television
रुपन्देहीमा छोटी भन्सार नहुँदाको क्षति

रुपन्देही–द्वन्द्वकाल अघि रुपन्देहीका सीमा क्षेत्रमा दर्जन हाराहारीम छोटी भन्सार थिए । मुलुकमा सशस्त्र द्वन्द्व सुरुपछि विस्तारै ती छोटी भन्सार कार्यालयहरु बन्द भए । तर, मुलुक शान्ति प्रक्रियामा गएकै दुई दशक हुन लाग्दा पनि छोटी भन्सार पुनः स्थापना हुन सकेका छैनन् । जसले गर्दा नागरिकलाई भारतमा गएर घरायसी सामान खरिदमा समस्या परिरहेको छ भने रुपन्देहीमा भारतबाट अवैध रुपमा आयात बढ्दो छ । यसले राजश्व संकलन समेत प्रभावित बनेको छ । 

रुपन्देहीमा बेलहिया नाकामा मूल भन्सार कार्यालय छ भने यस मातहत ७ वटा छोटी भन्सार छन् । तर, ७ मध्ये ६ वटा छोटी भन्सार संचालनमा छैनन् । लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदहमा रहेको छोटी भन्सार भने संचालनमा छ । खुल्ला सीमाको फाइदा उठाउँदै हुनसक्ने अवैध आयात रोक्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न सरकारले छोटी भन्सार संचालन गरेको थियो । तर, माओवादी सशस्त्र द्वन्द्वकालमा ६ वटा छोटी भन्सार बन्द भए । 

माओवादी शसस्त्र द्वन्द्व समाधान भई शान्ति प्रक्रियामा गएको २ दशक पुग्दै लाग्दा समेत बन्द भएका छोटी भन्सार संचालनमा आउन सकेका छैनन् । सीमा क्षेत्रमा रहेका छोटी भन्सारका संरचना संरक्षण अभावमा जीर्ण भएका छन् । भैरहवा भन्सार कार्यालयका अनुसार बन्द रहेका ६ वटै छोटी भन्सारका संरचना काम लाग्ने किसिमका छैनन् । कतै झाँडीले ढाकेको छ भने कतै रुखविरुवा उम्रिएका छन् । संरचना भत्किएर यत्रतत्र छन् । खाली जग्गा गौचरणमा परिवर्तन भएका छन् । सरकारले यस्ता संरचना न संरक्षण गरेको छ, न पुनर्निर्माण गरेर संचालनमा नै ल्याउन सकेको छ । यसले एकातर्फ सरकारी संरचना संरक्षण अभावमा ध्वस्त हुँदै गएका छन् भने अर्कातर्फ खुल्ला सीमाको फाइदा उठाउँदै अवैध क्रियाकलापले प्रसय पाइरहेका छन् । सीमा क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले पटकपटक छोटी भन्सार संचालनको माग गरे पनि कहीकतैबाट सुनुवाई हुन सकेको छैन ।

जिल्लाको बुची बरवा, अमवा, पक्लिहवा, बेथरी, मन्झरिया, थुम्हवा पिपरहवा र लुम्बिनीको कालीदहमा छोटी भन्सार छन् । यसमध्ये कालीदहको मात्रै संचालनमा छ । थुम्हवा पिपरहवा छोटी भन्सार कार्यालय केही समय पहिला सञ्चालनमा आएपनि पुनःबन्द भएको थियो । रुपन्देहीमा भारतसँग सीमा जोडिएको ७० किलोमिटर बढी क्षेत्र छ । कालीदह छोटी भन्सारले लुम्बिनी क्षेत्रको निगरानी गरेपनि बाँकी सीमा क्षेत्रको निगरानी भैरहवा भन्सार कार्यालय र सुरक्षा निकायले गर्नुपर्छ । तर, खुल्ला सीमा क्षेत्र धेरै भएकाले अवैध गतिविधि रोक्न धौ–धौ छ । जसले गर्दा अवैध कार्यले प्रसय पाइरहेको छ । छोटी भन्सार संचालनको जिम्मेवारी पाएको भैरहवा भन्सार कार्यालयका अधिकारी भने राजस्वको दृष्टिले त्यति प्रभावकारी नभएको बताउँछन् । 

पछिल्ला केहीवर्ष यता भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्य पूरा गर्न सकेको छैन । यसको एउटा कारण छोटी भन्सार संचालन नहुँदा अवैध ओसारपसार बढ्नु पनि एक हो । तर, जनशक्तिको अभाव र जीर्ण भवन देखाउँदै द्वन्द्वकालमा बन्द गरिएका छोटी भन्सार संचालनमा सरकारको ध्यान नै गएको छैन । दैनिक उपभोग्य बस्तुका नाममा सीमा नाकाहरुबाट दिनहुँ लाखौं रुपैयाँको सामान मुलुक भित्रिरहेको छ । यसले स्वदेशी वैध व्यवसाय गर्ने लगानीकर्ता मर्कामा छन् भने मुलुकको राजस्वमा ठूलो असर पारिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update