News 24 Television
सेर्माथाङमा उर्गेन छ्योलिङ गुम्बा उद्घाटन

सिन्धुपाल्चोक–सिन्धुपाल्चोक जिल्लाको सेर्माथाङमा अवस्थित उर्गेन छ्योलिङ गुम्बाको उद्घाटन (राप्ने) गरिएको छ । ७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको गुम्बालाई पूननिर्माण सम्पन्न गरेपछि उद्घाटन गरिएको हो । ह्योल्मो क्षेत्रमा रहेको उर्गेन छ्योलिङ गुम्बा भण्डै २ सय वर्ष पुरानो गुम्बा हो । स्थानीयको आध्यात्मिक धरोहरलाई निरन्तरता दिने उद्देश्यले पुननिर्माण गरिएको गुम्बा लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् योल्मो समुदायकै प्रथम खेन्पो छिमेद छिरिङ्ग (डाक्टर ल्हारक्याल लामा)ले बौद्ध परम्परा अनुसार खेपा रब्ने पूजा गर्दै औपचारिक उद्घाटन गरेका हुन् । 

यो गुम्बा सेर्माथाङको पहिलो लामा, सोनाम वाङडाले स्थापित गरेका थिए र त्यस समयदेखि नै यो गुम्बा धार्मिक तथा सांस्कृतिक जीवनको एक महत्वपूर्ण केन्द्र बनेको छ । गुम्बाको संरक्षण र पुनर्निर्माणको जिम्मेवारी लामो समयदेखि लामा पालजोर र लामा कालसाङले गर्दै आएका थिए । उनीहरुपछि लामा कालसाङका भाइ लामा सोनामले गुम्बा निर्माण गरे ।

२०७२को विनाशकारी भूकम्पको असरले गुम्बामा पूर्ण क्षति भएपस्चात् गुम्बाका अध्यक्ष एवम् प्रमुख लामा सोनामले पुनःनिर्माणको प्रक्रिया सुरु गरे । यस पुनर्निर्माण कार्यमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको विशेष सक्रियता रह्यो । उनकै पहलमा गुम्बा पुननिर्माणका लागि भारतीय राजदूतावासबाट ९०% अर्थिक सहयोग जुटाइएको थियो । यसैगरी उनै ल्हारक्यालको सक्रियतामा नेपाल सरकारको तर्फबाट पनि १०% आर्थिक सहयोग गुम्बालाई प्राप्त भयो । गुम्बाको पुनर्निर्माण कार्य नेपाल सरकारको पुनर्निर्माण प्राधिकरणको समन्वयमा गरिएको हो । 

करिब २८ वर्ष अगाडि उपाध्यक्ष लामाले खेन्पो उपाधि प्राप्त गरेपछि पहिलोपटक  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला समेतको उपस्थितिमा यही गुम्बामा धर्म देशना दिएका थिए । २०७२ सालको भूकम्पले क्षति ग्रस्त सिन्धुपाल्चोककै अन्य दर्जनौं गुम्बाहरुको निर्माणका लागि पनि भारत सरकार र भारतीय राजदूतावाससँग समन्वय भैरहेको उपाध्यक्ष ल्हारक्यालले बताए । उद्घाटन कार्यक्रममा उपाध्यक्ष डा. लामालाई स्थानीयहरूले योल्मो समुदायको सांस्कृतिक भेषमा सज्जिएर विशेष सम्मानका साथ स्वागत गरेका थिए । यस अवसरमा, उपाध्यक्ष डा. लामाका साथै गुम्बाका अध्यक्ष, अन्य खेम्पो भिक्षुहरुको सङ्लग्नतामा गुम्बाको शुद्धिकरण र जगतका सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै मोन्लाम जप पनि गरिएको थियो ।  

गुम्बाका अध्यक्ष एवम् प्रमुख लामाका सहयोगी कर्मा लामाले गुम्बाको निर्माण कार्यक्रममा पहल गर्न सहयोग गर्ने उपाध्यक्ष डाक्टर लामा, पुर्वमन्त्री शेरबहादुर तामाङ, पुर्वमन्त्री निमा लामा सहित हेलम्बु गाउँपालिकाका अध्यक्ष र समुदायलाई आभार प्रकट गरे । 


 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update