News 24 Television
बालीनाली सखाप हुँदा किसान चिन्तित

सर्लाही–असोज १० देखि १२ गते सम्म परेको अबिरल वर्षाका कारण लगाएको बाली नष्ट भएपछि सर्लाहीका किसान चिन्तित बनेका छन् । बाढीका कारण नदीहरुले बाँध फोडेर निस्किएको पानीको भेल खेतबाली र बस्तीतिर पसेपछि अन्नबाली नष्ट हुन पुगेको हो । बाढीले हजारौ बिगाहमा लगाएको बाली नष्ट हुन पुगेको छ भने हजारौ विघा खेती योग्य जमिन समेत बगरमा परिणत भएको छ । अबिरल वर्षाका कारण आएको बाढीले सर्लाहीको कृषि क्षेत्रमा उत्पादनको आधारमा करिब ५६ करोड रुपैया बराबरको प्रारम्भिक क्षति भएको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । बाढीका कारण ४ हजार ४ सय ४७ हेक्टरमा लगाइएको धान, साढे ९ हेक्टरमा लगाइएको मकै, २२ हेक्टरमा दलहन, ५ सय ४५ हेक्टरमा तरकारी र करिब ३ हजार हेक्टरमा लगाइएको उखुबालीमा क्षति पुगेको छ । त्यस्तै ३ सय ४६ हेक्टर नर्सरी, ८ हेक्टर बिउ बेर्ना र २४ वटा टनेलमा क्षति भएको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख देवानन्द यादवको भनाई छ । बाढीले पु¥याएको क्षतिका कारण सर्लाहीका १० हजार ६ सय ३० कृषक प्रभावित बनेको प्रमुख यादवले जानकारी दिएका छन् । 

बाढीका कारण अन्नबाली नष्ट भएपछि  खेतकै बालीको भरमा जिविकोपार्जन गर्दै आएका  किसानहरु घरको न घाटको हुन पुगेका छन  । प्रत्येक वर्ष तिनै तहको सरकारले उपेक्षा गर्दा वर्षेनी चर्को व्याजमा ऋण बोकेर खेती गर्दै आएका सर्लाहीका किसानहरु बाढीले बाली सखाप पारेपछि झन तनावमा पुगेका छन् ।  

नदीको बाध बनाउने काम कमसल र अबैज्ञानिक भएका कारण प्रत्येक वर्ष सर्लाही बाढी र कटानबाट पिडित बन्दै आएको किसानको गुनासो छ । प्रत्येक वर्ष बाँध बनाउन र मर्मत सम्भार गर्न बजेट आएपनि, बाँधलाई संरक्षित तरिकाले ढुंगाले नबेरिएका कारण नदीले प्रत्येक वर्ष बितण्डा मच्चाएको किसान सिताराम महतो बताउँछन् । समय रहँदा तिनै तहको सरकार र मातहतका सरोकारवालाले ध्यान नदिने र ज्यान धनको क्षति भएपछि राहत बाँडेर नाटक देखाउन आएको भन्दै किसान आक्रोशित छन् ।  

केन्द, प्रदेशदेखि स्थानीय सरकार समेतले किशानको स्तर उन्नती तथा कृषि उपज बढाउने भन्दै करोडौ रुपैयाको बजेट छुटयाउछ । तर सर्लाहीको परिप्रेक्ष्यमा हेर्ने हो भने व्यवहारिक देखिएको छैन । सर्लाहीका करिब ६० प्रतिसत किसानहरु अहिलेपनि आकाशे पानी कै भरमा खेती किसानी गर्दै आएका छन । ४० प्रतिसत किसान सिचाई सुविधासँग जोडिएपनि उनीहरुको पनि अनेकौ समस्या छन । समयमा नहरहरुमा पानी नछोडने, समयमा मल खाध उपलब्ध नहुने जस्ता दर्जनौ समस्याबाट किसान ग्रसित हुदै आएका छन ।  यी बाहेक सर्लाहीका किसानहरुलाई कहिले बाढी, डुबान, कटान त कहिले खडेरीजस्ता प्राकृतिक विपत्तिले पनि वर्सेनि सताउँदै आएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update