News 24 Television
उद्योगीको दशैँः कोही स्वदेश, कोही विदेश

काठमाडौं– दशैँ शुरु भएसँगै २०८१ सालको दशैँ देशका उद्योगी व्यवसायीले स्वदेश तथा विदेशमा आ–आफ्नै तरिकाले मनाउने बताएका छन् । दशैँमा धेरै विदा हुने भएकाले परिवारसहित व्यवसायीहरुले विदेशमा दशैँ मनाउन जाने बताएका छन् भने कतिपय व्यवसायीहरु दशैँ मनाउनकै लागि विदेश पुगिसकेका छन् । तर केही उद्योगी व्यवसायीहरु भने स्वदेशमा नै दशैँलाई परिवारसँग बसेर मनाउने बताएका छन् । कतिपयले व्यवसायीहरु दशैँमा आन्तरिक भ्रमणमा जाने तयारीमा छन् भने केही व्यवसायीहरु व्यवसायिक योजना बनाएर घरमा नै बस्ने बताएका छन् । 

दशैँभर मठ मन्दिरहरुमा गएर पूजापाठ गरी दशैँ मनाउने तयारी रहेको व्यवसायीहरुले बताएका छन् । दशैँमा विशेषतः मठ मन्दिर गएर पूजापाठ गर्ने, ठूलाबडाको हातको टिका लगाउने साथीभाईसँग रमाईलो गर्ने गरिन्छ । नेपालीहरुको लागि दशैँ सबैको भेटघाट गर्ने थलो हो भने देश विदेशमा भएका आफन्तसँग भेटघाट र खुशी साटासाट गर्ने माध्यम नै दशैँ भएकाले पनि दशैँलाई विशेष मानिन्छ । आम मानिसहरुमा ठूला उद्योगी व्यवसायीहरुले दशैँलाई कसरी लिन्छन् र मनाउँछन् भन्ने चासोको विषय समेत बन्ने गरेको छ । सोही सेरोफेरोमा न्युज एजेन्सी नेपालले केही उद्योगी, व्यवसायीहरुसँग कुराकानी गरेको छ । 

कमलेशकुमार अग्रवाल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स 
दशैँ,तिहार,छट र नेपाल सम्वत नेपालीहरुका महान पर्वहरु हुन् । तर सबैभन्दा बढी विदाको समय दशैँमा हुन्छ । विजय दशमीको अवसरमा ९ दिनसम्म उद्योगमा पूजा गर्छौं । पूजा सकेपछि मात्रै काठमाडौं बाहिर जाने समय मिल्छ । यो वर्ष कारखानामा नवमीको दिनसम्म पूजा सक्ने र विदेश जाने सोच बनाएको छु । परिवारसँग यो वर्षको दशैँमा सिंगापुर जान लागेको छु । त्यहाँबाट परिवारलाई लिएर इण्डोनेसिया पनि जाने योजना छ । 

दुईवटा उद्देश्य छ । घुमघामका साथै व्यवसायीक भेटघाट पनि रहनेछ । हरेक वर्ष दशैँ लागेसँगै सप्तमीका दिनदेखि उपत्यकामा रहेका सबै देवीका मन्दिरहरुमा पुग्ने कोशिस गर्छु । हरेक वर्ष प्राय पुग्ने गरेको छु । तलेजु भगवानको समेत दर्शन गर्ने योजना छ । सप्तमी,अष्ठमी र नवमी तीन दिन मन्दिरहरुको दर्शन सक्छु । बाँकी समयमा परिवार र भित्रहरुसँग भेटघाट गर्ने गर्छु । बाल्यकालको दशैँ जस्तो अहिले हुँदैन । च्याङ्ग्रा उडाउन धेरै रहर लाथ्यो । तर अहिले नातीहरुसँग चङ्गा उडाउने गरेको छु । विदाको समयमा फिल्म हेर्ने गर्छु । 

विगतमा मनाइने दशैँ र अहिले मनाउने दशैँमा धेरै परिवर्तन भइसकेको छ । अहिले दशैंमा बेलुका साथीहरुले गेट टुगेदरको योजना गर्ने गर्छन् । अहिले लाइफ स्टाइल परिवर्तन भएको छ । त्यहाँ पनि गइन्छ तर दशैं धार्मिक पर्व भएकाले कहिल्यै रक्सीहरु खाँदिन । भोजनको आन्नदहरु लिने गरिन्छ । 

भवानी राणा, पूर्वअध्यक्ष,नेपाल उद्योग वाणिज्य महासंघ
विगतमा मनाउने दशैं र अहिले मनाउने दशैंमा धेरै फरक छ । बाल्यकालमा मनाउने दशैँमा आउने रौनक र रमाइलो अर्कैै किसिमको हुने गथ्यो । उद्योगी व्यवसायीहरको दशैँ अर्थतन्त्र ओरालो लागेको अवस्थामा छ । अर्थतन्त्रमा केही परिवर्तन भएको देखिएको छैन । उद्योगी व्यवसायीहरुलाई दशैं मनाउन कठिन देखिएको छ । उद्योगीहरुले मजदुरहरुको दशैँ रमाइलो बनाउने प्रयासमा छन् । बाढी पहिरोको कारण यो वर्षको दशैं विगतको जस्तो रौनक देखिएको छैन । तर दशैं मनाउनु पर्छ । मुलुकको धर्म संस्कृतलाई मान्नुपर्छ । विशेष गरी दशैंमा सबै भन्दा बढी पूजामा व्यस्त हुन्छु । नौरथा शुरु हुने बित्तिकै पूजा शुरु हुन्छ । नौ दिनसम्म वर्त पनि हुन्छ । 

नौरथा अवधिभर म गुरु नै राखेर देवीको पूजाआजा गर्छु । नवमीको दिन पूजा सकिन्छ । अष्टमीको दिन नेपालगञ्जमा जान्छु । पुर्खेली घर भएकाले नेपालगञ्जमा गएर दशैँ मनाउँछु । अरुले जस्तै टीका लगाउने, आफूभन्दा ठूलाको आशिर्वाद थाप्ने र सानालाई आशिर्वाद दिएर नै दशैँ मनाउँछु ।

बाल्यकालमा दशैँ लागेसँगै पिङ हाल्ने,दशैँ आएसँगै मौसम पनि परिवर्तन हुन्छ । आफन्तसँग भेटघाट गर्ने,कलेज बढ्दा घर जाने,आमा बुबा र परिवारसँगको भेट हुँदा फरक किसिमको रमाइलो हुन्थ्यो । त्यो अहिले परिवर्तन भइरहेको अवस्था छ । गाउँतिर अझै पनि रमाइलो हुन्छ । म हरेक दशैँ नेपालमा नै मनाउने गरेको छु र मनाउँछु । दशैँ हिन्दुधर्मको लागि ठूलो पर्व पनि हो । परम्परालाई पनि निरन्तरता दिनुपर्छ भन्ने मान्यता राख्छु ।
 
दशैँको समयमा विदेशमा विभिन्न कार्यक्रमहरु पनि हुन्छन् । तर पनि म कहिल्यै पनि गइन । दशैं भनेको आफ्नो घरपरिवारसँग मनाउनुपर्छ । नेपालमै आफ्नो ठाउँमा बस्न रुचाउँछु । तर पछिल्लो समय धेरै व्यवसायीहरु बाहिर जाने पनि छन् । धेरै विदाको कारणले गर्दा पनि होला । नेपालमा दशैँ मनाउँदा धेरै ठाउँमा जानुपर्ने भएकाले पनि विदेश जाने गरेको देखिन्छ । दशैं आफ्नै देश,परिवार र साथीभाईहरुसँग मनाउनुपर्छ । 

राजेन्द्र मल्ल, व्यवासायी
परिवारसँगै दशैँ मनाउने योजना छ । नवरात्रीको नौ दिनसम्म शक्ति पीठहरुमा गई पूजाआज गर्ने र घरकैै सदस्यहरुसँग नै मनाउने योजना रहेको छ । म जहिले पनि दशैँतिहार जस्ता पर्वमा आफ्नै मुलुकमा नै घरमा बसेर मनाउने र रमाउने प्रचलन छ । 

यो वर्षको दशैँ गत हप्ताको बाढी र पहिरोले सबै नेपालीलाई पीडा दिएको छ । सोचेको जस्तो यो वर्षको दशैँ रमाइलो छैन । बाल्यकालमा दशैँ भनेपछि राम्रो लगाउने,मिठो खाने र रमाउने भन्ने थियो । त्यो बेला धेरै रमाइलो हुन्थ्यो । दशैँमा घरमा विभिन्न थरिका खानाहरु पाक्ने र पकाउने गरिथ्यो । अहिलेको जस्तो जुनसुकै सामान पनि खरिद गर्न पाउने अवस्था थिएन ।  बाल्यकालमा परम्परागत उत्पादन र पूजा गरेर मनाउने गरिन्यो । तर अहिले उमेरको कारण र जिम्मेवारीको कारण रमाइलो हुन छाड्यो । बच्चा जस्तो चनचले दशैँ हुँदैन तर रमाइलो गरेर मनाउँछौं । दशैमा दाजुभाईसँगै बसेर तास खेल्नेछौं । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update