News 24 Television
सडक मेला वीरगञ्जको पहिचान

पर्सा-हिन्दु धर्मावलम्वीको महान चाड वडा दशैँको रौनक वीरगञ्ज महानगरपालिकाको मुख्य सडकमा देखिन थालेको छ । दशैकै अवसर पारेर भारतबाट आएका व्यापारीहरुले वीरगन्जको मूख्य बजारहरुमा सडकमै किनमेलको मेला लगाएका छन् । यसले पनि वीरगञ्जको चहलपहलमा छुट्टै रौनकता ल्याएको छ । वीरगञ्ज महानगरपालिकामा प्रत्येक वर्ष वडा दशैँको अवसरमा ठूलो मेला लाग्ने गर्दछ । मठमन्दिरहरुमा सिंगारिएको झिलीमिलीसंगै औद्योगिक नगरी वीरगञ्जको मुख्य सडकमा लाग्ने ठूलो मेलाले यतिबेला छुट्टै रौनक देखिएको छ । 

दशैँमा भारतबाट ठूलो संख्यामा भक्तजनहरु विभिन्न शक्तिपिठहरुमा पूजाआजा र दर्शनका लागि मात्र आउने गर्दैनन्, मुख्य सडकमा मेला लगाउन र व्यापार गर्ने उद्देश्यले पनि हजारौँको संख्यामा भारतीयहरु वीरगञ्ज आउने गर्छन । पुरापूर्वकालदेखि लाग्दै आएको मेलाकै कारण वीरगञ्जबासीलाई दशैँ आएको अनुभूति हुने गर्दछ । घटस्थापनादेखि दशैँभरी लाग्ने मेलामा व्यापारीहरुले लत्ताकपडादेखि जुत्ताचप्पलहरु सस्तो मूल्यमा विक्री गर्ने हुँदा बारा–पर्साको गाउँगाउँबाट सर्वसाधारणहरु किनमेलका लागि मेलामा आउने गर्छन । यो मेलाको मुख्य आकर्षणका रुपमा सडकमै बनाइने जेरी अर्थात जुलेवी पनि हो । मेला अवधि भर २४ घण्टा व्यापारीहरु जुलेबी बनाउन र बिक्री गर्नमा व्यस्त हुन्छन् भने उपभोक्ताहरुले पनि तात्तातो जुलवी स्वाद लिएर खाने गरेका छन । दशैँमै मेला लगाउन आफूहरु वीरगञ्ज आईपुगेको व्यापारीहरुले बताएका छन् । विगतको अनुपातमा विक्री नभएपनि निराश नै बन्नु पर्ने अवस्था नआउने व्यापारीले बताए । 

नेपाली र भारतबाट आएका व्यापारीहरुले वीरगञ्जका मुख्य चोक गल्लीका सडकमै स्टल राखेर लत्ताकपडादेखि खाद्यान्न समेत बिक्रि गरिरहेका छन् बिहानैदेखि रातिसम्म चल्ने यस्ता सडकमा राखिएका स्टलहरुमा उपभोक्ताको भीडभाड पनि उल्लेख्य छ । किनमेलका लागि गाउँगाउँदेखि मानिसहरु पुगिरहेका छन् । वीरगन्जमा यतिबेला धार्मिकक गतिविधि समेत बढिरहेको छ । मठमन्दिरहरुमा दर्शनार्थीको भीडभाड छ । धार्मिक तथा व्यवसायिक चहलपहलले स्थानीलाई पनि हर्षित बनाएको छ । दशैमा लाग्ने सडक मेला वीरगन्जको आफ्नै मौलिक परम्परा बनिसकेको स्थानीयको भनाइ छ । 

दशैँमा लागेको मेलाले वीरगञ्जमा भिडभाड बढेपनि यसले यहाँको ट्राफिक व्यवस्थापन भने  अस्तव्यस्त बनेको छ । वडा दशैँको बेला वीरगञ्जको आर्दशनगरदेखि आर्मी व्यारेकसम्म मुख्य सडकमै मेला लाग्ने हुँदा सवारी आवागमनमा कठिनाई भइरहेको छ । स्थानीय तहले मेलाको लागि उपयुक्त स्थानको व्यवस्था गर्न नसक्दा ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यतिबेला मुख्य सडकमा ठूला सवारीसाधनलाई रोक लगाइएको छ जसकारण वीरगञ्जका साना गल्लीहरुमा एकदमै जाम हुने गरेको छ । यसतर्फ स्थानीय तह देखि सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update