News 24 Television
शुक्रवार शिलान्यास गर्ने 

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेले पार्टीको नयाँ केन्द्रिय भवन निर्माण गर्ने निर्णय गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रिय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरुमा बस्दै आएको बताए । 

च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेको ज्ञवालीले बताए । शुक्रवार १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयको शिलान्यास हुने उनले जानकारी दिए । त्यस्तै बैठकले विपद्पछिको पुनःनिर्माण, पुनःस्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता÷कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आह्वान गरेको छ । 

समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरु छुटपुट देखापरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पंक्तिलाई आह्वान गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले बताए । बैठकले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरुले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रिय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ । 

उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरुप तयारी गर्न आह्वान गरेको पनि ज्ञवालीको भनाइ छ । पार्टीले वडा दशैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update