News 24 Television
मेलम्चीको पानी सोझै पिउन सकिने

काठमाडौं– मेलम्ची नदीबाट काठमाण्डौको सुन्दरीजलमा दैनिक २२ करोड लिटर पानी आए पनि १८ करोड लिटर मात्रै वितरण भइरहेको छ । प्रशोधन केन्द्रको क्षमताका कारण १८ करोड लिटर पानी मात्रै वितरण भएको र झण्डै चार करोड लिटर पानी बाग्मतीमा बगाइएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले विगतका वर्षहरुमा भन्दा यो पटक बर्खा सकिनेवित्तिकै छिटै काठमाण्डौमा पानी ल्याइएको बताए । पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाण्डौमा पठाउन सकिएको प्रमुख लामिछानेको भनाइ छ । काठमाण्डौ उपत्यकामा हिजोबाट दैनिक १८ करोड लिटर पानी प्रशोधन गरेर वितरण भइरहेको उनले बताए । मेलम्चीबाट आएको पानीमध्ये चार करोड लिटर पानी भने बाग्मती नदीमा बगाइएको लामिछानेले जानकारी दिए । 

अहिले मेलम्ची नदीमा ४० करोडदेखि ५० करोड लिटर पानी रहे पनि सबै पानी सुरुङमा नहालिएको उनले बताए । सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता बढीमा १८ करोड लिटर मात्रै रहेकाले बाँकी रहेको झण्डै चार करोड लिटर पानी बाग्मती नदीमा छोडिरहेको उनले स्पष्ट पारे । 

कार्यकारी निर्देशक लामिछानेले मेलम्चीबाट आएको पानी सीधैँ पिउनयोग्य भएको पनि दाबी गरे । मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएको भन्दै पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदुषित हुन सक्ने उनले बताए । मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकनै पिउन सकिने गुणस्तरको रहेको लामिछानले जानकारी दिए । 

२०७८ साल असार १ गते र साउन १६ र १७ गते मेलम्ची नदीमा आएको बाढीले पानी डाइभर्सन गर्न बनाइएको हेडवक्सका संरचना पूर्णरुपमा नष्ट भएपछि आयोजनाले बर्खाको समयमा पानी काठमाण्डौमा पठाउन बन्द गरेर बर्खा सकिएपछि मात्रै पठाउने गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update