काठमाडौं । काठमाडौंदेखि हेटौँडा जोड्ने सबैभन्दा छोटो दूरीको सडक मार्ग कान्ती लोकपथ बुधवार बिहानदेखि पूर्ण रुपमा संचालनमा आएको छ । योसँगै काठमाडौं प्रवेश गर्ने र बाहिरिने यात्रुहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
मंगलवार ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबरासहितको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको टोलीले सडक संचालनका लागि पूर्वअनुगमन गरेको थियोे । सो क्रममा कान्ती राजमार्गका इन्जिनियर सीताराम बुढाथोकीले सडक विभाग र नेपाली सेनाको सहयोगमा सडक खुलाउने काम भइरहेको र बुधवार बिहानसम्म पूर्ण रुपमा सडक सञ्चालन गरिसक्ने बताए ।
असोज ११ गतेदेखि आएको वर्षा बाढी र पहिरोका कारण कान्ती राजमार्गमा १५.७५ मिटरको सिम्प्ली सपोर्टेट ब्रिच क्षति हुँदा आवतजावतमा समस्या भएको थियो । बाढीका कारण पुल, सडक र पुलको निर्माणको लागि राखिएको पाइल ड्राइभिङ मेसिन लगायत अन्य मेसिनहरु र ८० टनको रेन्सफोर्समेण्टहरु पनि बगाएको थियो । यद्यपि अब भने सडक संचालनका लागि अस्थायी रुपमा भएपनि पूर्वाधार तयार भइसकेको छ ।
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा.उदयशमशेर जबराले पनि वागमती गाउँपालिका र कोन्जसुम गाउँपालिकाका केही बाटोहरु अवलोकन गरेका छन् । यही क्रममा उनले कान्ती लोकपथको पनि अवलोकन गरिएको र ललितपुर र मकवानपुर जिल्ला जोड्ने कान्ती लोकपथमा विशेष गरेर बगुवाको पुलमा आधा भन्दा बढी क्षति गरेकाले आवतजावत असहज भएको बताएका छन् । तर अहिले पुलमा साना सवारीहरु चलाउनसक्ने बनाइएको छ ।
वर्षासँगै बाढी पहिरोका कारण मुलुकभरका प्रमुख राजमार्गहरु अबरुद्ध भएका थिए । बाढीकै कारण मुलुककै राजधानी काठमाडौं उपत्यकाबाट बाहिर जाने तथा प्रवेश गर्ने मुख्य मार्ग नारायणगढ मुग्लिन सडकखण्ड र विपी राजमार्ग पनि अबरुद्ध भए । जसले दशैँमा घरजाने यात्रुहरुसमेत प्रभावित बनेका थिए । तर अब कान्ती लोकपथ संचालनमा आएसँगै यात्रुहरुलाई केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।