काठमाडौं । काठमाडौैं उपत्यकाकै विकास र पूर्वाधारसँग जोडिएको मेलम्ची खानेपानी आयोजनामा सरकारले ३२ अर्ब खर्च गरिसकेको छ । तर निर्माण आरम्भ भएको दशकौँ समय वितिसक्दा पनि मेलम्चीको पानी काठमाडौंमा सहजताकासाथ वितरण हुन सकेको छैन ।
उपत्यकाबासीको जीवन र दैनिकीलाई नै सहज बनाउनसक्ने मेलम्चीको पानी केही वर्ष अघि काठमाडौंमा झारियो । तर यसले स्थायित्व पाउन सकेन । विगतमा बाढी र पहिरोले क्षत विक्षत बनाएको मेलम्ची खानेपानी आयोजना पुनः जोमिममा पर्नसक्ने संभावना देखिएपछि गत बैशाखबाटै बन्द गरिएको थियो । यद्यपि अब भने सरकारले छिटै मेलम्चीको पानी पुनः काठमाडौं उपत्यकामा झार्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमार्फत नै मेलम्ची आयोजनाको अस्थायी मुहान स्तरोन्नति गरी बाह्रै महिना खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाइने घोषणा गरेको थियो । तर यो वर्षको वर्षादमा पानी ल्याउन सकिएको थिएन । यद्यपि सरकारले मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरणको कार्य अघि बाइसकेको छ ।
यसअघि मन्त्री यादवले मेलम्चीका सङ्घर्ष समितिसँग खानेपानी काठमाडौं ल्याउने विषयमा छलफल गरेका थिए । आयोजना पुनःनिर्माण तथा स्थानीय यातायातका लागि बाह्रै महिना सञ्चालन हुने सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा स्रोत सहमतिको प्रस्ताव पेस गर्नेगरी प्रक्रिया अगाडि बढाउन खानेपानी मन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएछि दुई पक्षबीच सहमति भएको हो ।
मन्त्री यादवले मेलम्चीका स्थानीयहरुले चार वटा मागसहित अवरोध गरिरहेको भन्दै सरकारले वार्ताको माध्यमबाट समस्या समाधान गर्ने आश्वसन दिएका हुन् । मुलुकमा असहज परिस्थिति रहेको भन्दै मन्त्री यादवले अहिलेलाई परिस्थिति बुझ्न मेलम्चीवासीसँग गरिरहेका छन् ।
बाढी र पहिरोले महांकाल मैदानमा भएका मेसिनरी वस्तुहरु, कीर्तिपुरको सुन्दरीघाट ट्रान्समिसन र पम्प लगायतमा मेसिनरी सामान ध्वस्त भएको छ । तर विपद् व्यवस्थापनबाट क्षति भएका खानेपानी संरचनाहरुको पुनःनिर्माणको काम गर्ने र काठमाडौं उपत्यकामा मेलम्चीको पानी दशैँअघि नै ल्याउने सरकारको तयारी छ ।
सोही अनुसार सरकारले तत्कालको लागि काठमाडौं उपत्यका खानेपानीमार्फत चल्ने मेसिन मर्मत गर्ने तथा नयाँ मसिन खरिद गरी काम अघि बढाउने तयारी गरिरहेको हो ।
त्यस्तै खानेपानी मन्त्रालयले मौसम विभागसँगको सल्लाहमा मेलम्चीको खानी खोल्ने पनि तयारी गरिरहेको छ । यदी सरकारको यो योजना तत्काल सफल भए मेलम्चीको पानी पीउने काठमाडौंबासीको सपना चाँडै साकार हुने देखिन्छ ।