काठमाडौं । ०६४ सालको एतिहासिक पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी माओवादी त्यसपछिका निर्वाचनहरुमा पनि ओरालो लाग्दै गएको छ । पछिल्लो निर्वाचनमा त एक्लै चुनाव लड्ने हैसियत नै गुमाएर नेपाली कांग्रेससहित विभिन्न राजनीतिक दलहरुसँग गठबन्धन गरी चुनाव लडेको थियो ।
आगामी मंसिर १६ गते हुन लागेको आसन्न स्थानीय तहको रिक्त पदको उपनिर्वाचनमा पनि माओवादी विभिन्न राजनीतिक दलहरुको सहकार्यको खोजीमा छ ।
आफूलाई मुलधारको पार्टी भन्ने राजनीतिक दलहरुको रवैया विचित्रको छ । उनीहरुले भन्ने एउटा तर ब्यवहारतः अर्कै देखिन्छन् । सशस्त्र राजनीतिबाट संसदीय राजनीतिमा उदाएको नेकपा माओवादी केन्द्रको रवैया पनि उस्तै छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले भनेको कुरा विर्सिदिन्छन् । प्रचण्डले चार दिनअघि मात्रै पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चुनावमा पार्टी एक्लै लड्ने भनी आगामी निर्वाचनको रणनीतिबारे अभिब्यक्ति दिएका थिए । कहिले कांग्रेस, कहिले एमालेसँग समीकरण गर्दा पार्टीको पहिचान नै हराएको भन्दै अब त्यस्तो गल्ती नगर्ने उनको आशय थियो ।
पार्टी कार्यकर्तासँग स्थानीय तहको उपनिर्वाचनदेखि आगामी ८४ सालको निर्वाचनसमेत एक्लै लड्ने अभिब्यक्ति दिएको दुई दिनपछि नै प्रचण्डले अन्य दलसँग सहकार्यलाई अगाडि बढाउन पहल गर्नु भन्दै विशेष परिपत्र जारी गरेका छन् ।
‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रुपमा चुनाव लड्ने तयारी गर्ने । यसका साथै सत्तारुढ दल बाहेकका बाम देशभक्त दलहरुसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने ।’–अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको प्रदेश तथा जिल्लाका इन्चार्ज तथा अध्यक्षका नाममा जारी गरेको विशेष परिपत्रमा भनिएको छ ।
माओवादी केन्द्रको सत्ता राजनीतिक बडो बिचित्रको छ । कहिले एमाले त कहिले कांग्रेससँग सहकार्य गरी माओवादीले अहिलेसम्म आफ्नो राजनीतिक शाख जोगाइरहेको छ ।
स्थानीय तहको उपनिर्वाचनको मिति तय भइसकेको अवस्थामा कांग्रेस र एमालेसँग भने सहकार्य हुन नसक्ने स्थिति बनेपछि माओवादी केन्द्रले ती दुई दलबाहेक अन्य दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने पहल थालेको स्पष्ट छ ।
माओवादी केन्द्रीय कार्यालयको निर्देशनअनुसार हरेक स्थानीय तहमा जुनसुकै दलसँग पनि सहकार्यको तयारी गर्नेछ ।