सिन्त्रुपाल्चोक । बाढीपहिरोले तहसनहस बनाएको १० दिनपछि गृहमन्त्री रमेश लेखक सहितको टोली मंगलबार सिन्धुपाल्चोकको निरीक्षणमा पुगेका छन् ।
क्षति, उद्धार र राहतबारे जानकारी लिन हेलिकोप्टरबाट गृहमन्त्री लेखकसँगै सिन्धुपाल्चोक पुगेका रक्षामन्त्री मानवीर राई, भौतिक योजना तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग जिल्लाका सरोकारवालाले तातोपानी नाकामा भोग्नुपरेको समस्या उठाउँदै नाका संचालनको लागी ध्यानाकर्षण गराएका छन् ।
गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षतविक्षत भएपछि सडक सञ्जालबाट विमुख बनेको तातोपानी नाका ह्युम पाइपले जोडिएको छ । अस्थायी ह्युमपाइप राखेर सडक बनाए पनि भोटेकोशी नदीमा जलसतह बढेकाले धेरै कठिनाइ छ ।
लार्चामा ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका साना सवारीसाधन पास भएपनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी छ ।
नाका अवरुद्ध हुँदा दसैंका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका कन्टेनर चीन र नेपालको भू–भागमा अलपत्र परेपछि ब्यवसायी र सरोकारवालाले चिन्ता ब्यक्त गर्दै आफ्नो गुनासो मन्त्रीहरुलाई सुनाएका छन् ।
दशैको लागी व्यवसायीले खरीद गरेका करिब नौ सयभन्दा बढी कन्टेनरमा अर्बाैको सामान चीन र नेपालको भू–भागमा अड्किएको छ । २२ अर्ब भन्दा वढी राजश्व उठाउने लक्ष्य तातोपानी भन्सार कार्यालयलाई दिइएको छ ।
असोज देखि पुषसम्म तातोपानी नाका हुदै चिनबाट वढी सामान आयात हुने सिजनमा नाकामा सामान रोकिएपछि नेपालमा झन् महंगी बढ्ने आंकलन गरीएको छ । यदि यो नाका सुचारु नभएमा राज्यले घाटा ब्यहोर्ने बताउदै सिन्धुपाल्चोकका सांसद मोहन वहादुर बस्नेतले बेलिब्रिज राख्न ढिलाई गर्न नहुने बताए ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री रमेश लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा बेलिब्रिजको व्यवस्थापन सकभर चाँडो गर्ने आश्वासन दिए ।
विपत्पछि ढिला गरेर आएको भन्दै राजनीतिक दलका प्रतिनिधिले सरकारको आलोचना गरिरहदा गृह मन्त्री लेखकले भारतबाट २० वटा बेलिब्रिज ल्याउन लागेकाले तातोपानी नाका संचालनको लागी आवस्यक २ बेलिब्रिज उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।
दसैँ लक्षित सामाग्री बोकेका कन्टेनरका रहेका फलफुल कुहिने त्रासमा बसेका व्यवसायी लार्चामा सडक र लिपिङमा तुहिन जोडिएपछि सामान गन्तव्यमा पु¥याउन पाउने झिनो आशामा छन् ।
ठाडो खोलाले बगाएको लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुलमा हालिएको तुइनबाट एक सातादेखि उतै रोकिएका स्याउ, लसुनजस्ता सामाग्री ओसार्न थालिएको छ । मितेरी पुलको तल्लो फाउन्डेसनको भाग चर्किँदा चीनले मितेरी पुलबाट कन्टेनर आउजाउ बन्द गरे मजदुरलाई बोकाउनु बाहेक व्यवसायीसँग कुनै विकल्प छैन ।