News 24 Television
यो दशैमा घुम्नु पर्ने केही चर्चित पर्यटकीय स्थानहरु 

काठमाडौं । बर्षायामको अन्त्य र चिसो यामको सुरुवात हुने शरद् ऋतुमा पर्ने दशैं तिहारको मौसम घुमन्तेहरुका लागि उपयुत्त मानिन्छ । 

यो समयमा न त बर्षात् नै बढी हुन्छ न त चिसो नै, पारिलो र न्यायो घाममा डाँडा काँडा, बनजंगल, हिमाल र मौसम पनि सफा हुदाँ घुमन्तेहरु उत्साहित हुन्छन् । अझै धान पाकेर फाँटहरु पँहेलपुर हुदाँ देखिने सुनौलो दृष्य लोभ लाग्दो नै हुन्छ । त्यसैले यो समयमा हिमाल, पहाड तराई जताततै घुमन्तेहरुका लागि राम्रो मानिन्छ । 

पछिल्लो समय दशैतिहार जस्ता चाडपर्वहरुमा दिइने लामो बिदामा घुमघाम गर्ने प्रचलन बढ्दो क्रममा छ । कुनै समय नेपालीका लागि घुमघाम भनेको भाकल गरिएका मठमन्दिरहरु पुग्नुमै सिमित थियो । तर आजभोली बिदाको मौकामा घुमघाम गर्ने चलन बढ्दा यसले आन्तरिक पर्यटनलाई समेत ठूलै टेवा दिइरहेको छ ।

खासगरी दशैतिहारको लामो विदालाई सदुपयोग गर्दै मनग्ये नेपाली घुमघाममा निस्कने गरेका छन् । दशैं तिहार अर्थात् बर्षायामको अन्त्य र चिसो यामको शुरुवात हुने समय हो । त्यसैले घुमन्तेहरुका लागि यो समय अत्यन्तै उपयोगि मानिन्छ ।

हिमाल खुलेर मुसुक्क हाँसेको हुन्छ भने पहाडमा हरियाली छाएको हुन्छ । उच्च पहाडी भेगमा कोदो, मध्य पहाडी र तराईका फाँटमा धान पाकेर लहलहै झुलेका धानले फाँट पँहेलपुर देखिन्छ । सुनौलो यो दृष्यले पर्यटनका पारखीलाई लठ्ठै बनाउँछ । 

पद यात्रा गर्न रुचाउनेहरु यो समयमा देशका विभिन्न स्थानमा पुग्छन् । यो सिजनामा सबै भन्दा बढी मार्दी ट्रेकमा पदयात्रा गर्न रुचाउनेहरु संख्या बढी रहेको देखिने पर्यटन वोर्डको भनाई छ । 

आन्तरिक पर्यटकहरुको रोजाईमा काठमाडौं उपत्यका वरिपरि रहेका धुलिखेल, नगरकोट, चन्द्रागिरि हिल्स, जरसिङ्ह पौवा, सुन्दरीजल, शिवपुरी, चोभारलगायत गन्तव्यहरु पनि छनोटमा पर्ने गरेका छन् । त्यस्तै सौराह, मनाङ, मुस्ताङ, लगायतका चर्चित पर्यटकीय गन्तव्यहरु पनि आन्तरिक पर्यटक बिदा पाउने बित्तिकै पुग्ने गरेका छन् । 

तर यसपटक दशैंको मुखमै भएको भिषण बर्षाले धेरै तिरका सडकहरु अवरुद्ध हुँदा अघिल्ला वर्षहरुको तुलनामा आन्तरिक पर्यटकको संख्यामा केही कमी आउने देखिएको छ । तर सरकारले अवरुद्ध सडक खुलाउन चासो दिदै सडकहरु सञ्चालनमा ल्याउन थालेपछि भने दशैं र तिहारको बीचमा आन्तरिक पर्यटकको चलपहल बढ्नेमा पर्यटन व्यवसायी विश्वस्त देखिएका छन् । 

सामाजिक सञ्जालहरुका कारण पनि आजभोली लुकेर रहेका धेरै पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुँदा ती स्थानहरुमा धेरै आन्तरिक पर्यटक पुगिरहेको देख्न सकिन्छ । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update