News 24 Television
अस्पताल आउने ५० प्रतिशतमा डेंगी संक्रमण, जोखिम कायमै 

काठमाडौं । असोज अन्तिम सातासम्म पनि डेंगी संक्रमण अझै कम भएको छैन । अहिले पनि काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमित बिरामीको चाप कम नभएको अस्पतालको भनाई छ । अहिले पनि ज्वरोको समस्या लिएर अस्पताल पुग्ने ५० प्रतिशतमा डेंगी संक्रमण देखिने गरेको छ । 

देशभरका एक जिल्लाबाहेक ७५ जिल्लामा फैलिएको डेंगी संक्रमणको जोखिम अहिले पनि कम भएको छैन । असोजको अन्तिम साता भइसक्दा पनि अहिले पनि डेंगी संक्रमितको संख्यामा कमी आउँन नसकेको हो ।  असोज अन्तिम साताबाट कम हुनुपर्ने डेंगु संक्रमण अझै एक महिना सम्म लम्बिन सक्ने चिकित्सक बताउँछन् । 

नेपालको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मंगलवार डेंगीका १६ जना उपचारत रहेका छन् । साथै डेंगी बहेक अन्य सरुवा रोग लगायतका बिरामीको चाप समेत अहिले अस्पतालमा रहेको छ । 

पछिल्लो समय काठमाडौं उपत्यकामा डेंगु सङ्क्रमितको संख्या बढ्दै गएको देखिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संख्यात्मक हिसाबमा काठमाडौं उपत्यकामा डेंगु संक्रमण बढेको छ । महाशाखाको तथ्यांक अनुसार पुसदेखि अहिलेसम्म देशभर १७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । 

साथै डेंगी संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । अहिले पनि डेंगी संक्रमणको जोखिम उतिकै देखिएकाले सक्रमणबाट जोगिन आवश्यक छ । साथै अहिले दशैं मनाउँन राजधानीबाट विभिन्न स्थानमा जाने क्रम बढेकाले संक्रमण संक्रमण अन्य स्थानमा फैलन सक्ने जोखिम पनि बढेको चिकित्सकहरु बताउँछन् ।

सरकारी तथ्यांक अनुसार हालसम्म सबै भन्दा धेरै डेंगी संक्रमण गण्डकी प्रदेशमा देखिएको छ । साथै अक्टुबर महिनाको मात्र तथ्यांक केलाउँदा भने संक्रमित संख्या काठमाडौंमा बढि देखिएको छ । अक्टुबरमा मात्र ५ सय जना संक्रमित काठमाडौंमा देखिएका छन् ।

डेंगी संक्रणका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, जोर्नी र मांसपेशीहरु दुख्ने, शरीरमा राता बिमिरा आउने, आँखाको गेडी दुख्ने वाकवाकी लाग्ने जस्ता लक्षण देखिने गर्दछन् । सातै एक पटक डेंगी संक्रमण लागेका व्यतिmमा समेत पुनः संक्रमणको जोखिम उतिनै हुने भएकाले थप सजकता समेत अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् । 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update