मकवापुर । देशकै सबैभन्दा जेठो र राजधानी काठमाडौँलाई देशका अन्य जिल्लाहरुसँग जोड्ने पहिलो राजमार्ग हो त्रिभूवन राजपथ ।
केही दिनअघि आएको अविरल वर्षाका कारण विपी राजमार्ग अवरुद्ध हुँदा मुलुककै सबैभन्दा पुरानो यो राजमार्ग दशैमा काठमाडौँबाट बाहिरिनेहरुका लागि भरपर्दो विकल्प बनेको छ ।
२००७ सालमा निर्माण भएको यो राजमार्ग अहिले निर्माण भएयताकै सबैभन्दा व्यस्त बनेको छ । दैनिक हजारौको संख्यामा विषेशगरी पूर्वजाने सवारी साधनहरु त्रिभूवन राजपथ हुँदै काठमाडाँैबाट बाहिरिरहेका छन् ।
काठमाडौलाई पूर्वी भेगसँग जोड्ने छोटो विपी राजमार्ग अविरल वर्षापछिको पहिरोले अवरुद्ध हुँदा अहिले पूर्वतर्फ जाने सवारी साधनका लागि त्रिभूवन राजपथ सबैभन्दा भरपर्दो विकल्प बनेको छ ।
कुनै समय सुनसान रहने यो राजमार्गमा यतिबेला सवारी साधनहरुको घूइँचो देखिन्छ । राजपथ आसपासमा रहेका दामन र सिमभञ्ज्याङका होटलहरु खचाखच देखिन्छन् ।
यही राजपथ हुँदै जाने यात्रुहरुले खाना र नास्ताको सुविधा भएपनि शौचालयमा भने समस्या रहेको गुनासो गर्छन् । ।
यात्राका क्रममा यात्रुहरुबाट आएको समस्याहरुको गुनासोलाई सम्बोधन गरिनुपर्ने होटल एसोसियसन, मकवानपुरका अध्यक्ष शिवकुमार खत्रीले बताए ।
काठमाडौँ जोड्ने अन्य राजमार्गहरुमा समस्या आउने बित्तिकै सबैभन्दा भरपर्दो रहेको त्रिभूवन राजपथलाई बेलाबेलामा मर्मत सम्भार गरी सूचारु राख्न केन्द्र सरकारले ध्यान दिनुपर्ने थाहा नगरपालिकाका उपप्रमुख भारत गोपालीले आग्रह गरे ।
त्यस्तै थाहा नगरपालिका भित्र पर्ने होटलहरुले यात्रुलाई नियमविपरितका क्रियाकलाप गरे स्थानीय सरकारको ऐन अनुसार कारबाही गरिने पनि उनको भनाइ छ ।
विक्रम सम्बत २००७ सालमा निर्माण सुरु भएर २०१० साल मंसिर २६ निर्माण सम्पन्न भएको त्रिभूवन राजपथ तत्कालिन राजा त्रिभूवनले गद्दी आरोहण गरेको ४२ वर्ष पुगेको अवसरमा नेपाल–भारत सडक सम्पर्कका लागि निर्माण गरिएको थानकोटमा राखिएको शिलालेखमा उल्लेख गरिएको छ ।