News 24 Television
निजी र सामुदायिक विद्यालय यस्ता ! कसरी हुन्छन् विद्यार्थी पास ?

काठमाडौं । विद्यालय तह कक्षा १२ को नतिजालाई विश्लेषण गर्दा अझै पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तर सुधारमा सक्रियता बढाउनु पर्ने देखिएको छ । 

राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो साता प्रकाशित नतिजालाई आधार मान्ने हो भने पनि निजी विद्यालयमा पढेका विद्यार्थीको पास संख्या बढी छ । राज्यकोष करोडौं रकम सामुदायिक विद्यालयमा खर्च भएपनि अवस्था सुधार कहिले हुने ? यो प्रश्न सतहमै छ । 

अहिले पनि सामुदायिक विद्यालय तथा निजी विद्यालय विच ठूलो अन्तर देखिन्छ । नीजी विद्यालय र सामुदायिक विद्यालयका भौतिक संरचना तथा सुविधा विच अन्तर त छदैछ, यसका साथै यी दुई विद्यालय बिचको परिक्षा फलमा समेत निकै अन्तर छ । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो साता सार्वजनिक गरेको नतिजाले पनि शिक्षाको गुणस्तरको अवस्था सुधारमा ध्यान दिनु पर्ने देखाएको छ । 

कस्तो छ त परीक्षाको नतिजा अवस्था 

–    सामुदायिक विद्यालयबाट परीक्षा दिएको मध्ये ४१ दशमलव ४६ प्रतिशत पास 

–    निजी विद्यालयबाट परीक्षा दिएका मध्ये ६७ दशमलव ८८ प्रतिशत पास

–    सामुदायिक विद्यालयबाट दुई लाख ३२ हजार सात सय ९५ विद्यार्थी परीक्षामा सहभागी
 
–    यस मध्ये ९६ हजार पाँच सय ६ जना पास 

–    तथ्यांक अनुसार सामुदायिक विद्यालय पढेका एक लाख ३६ हजार दुई सय ८९ जना विद्यार्थी परिक्षामा असफल 

–    निजी विद्यालयबाट एक लाख ५८ हजार ७३ जनाले परीक्षा दिएकोमा एक लाख सात हजार तीन सय दुई जना पास 

–    निजीबाट परीक्षा दिएका मध्ये ५० हजार सात सय ७१ जना फेल
 
–    उच्च जीपीए ल्याउनेमा पनि निजीमा शिक्षण संस्था पढेका विद्यार्थीनै धेरै 

–    परिक्षा फलमा ३ पोइन्ट ६१ देखि ४ जीपीए ल्याउने ९ हजार पाँच सय ९१ विद्यार्थी मध्ये सामुदायिक शिक्षण संस्थामा अध्ययनरत एक हजार दुई सय २१ जना छन् मात्र रहेका छन्  भने निजीमा अध्ययनरत आठ हजार तीन सय ७० जना

सरकारले सामुदायिक विद्यालयको शिक्षण सिकाइमा सुधार गर्ने उद्देश्यले विद्यालय सुपरवेक्षण तथा पेसागत सहायता निर्देशिका गत वर्ष नै जारी गरिसकेको छ । 

शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकामा विद्यालयको निरीक्षण तथा सुपरिवेक्षणका लागि प्रत्येक स्थानीय तहमा व्यवस्था समेत गरिएको छ । तर निर्देशीका जारी गर्ने सरकारले त्यसको कार्यान्वन पक्षमा ध्यान नदिदाँ सामुदायिय विद्यायको अवस्था अहिले पनि नाजुक छ । यद्यपी, केहि सामुदायिक विद्यालय विगतको तुलनमा सुधार नभएका पनि होइन । तर सामुदायिक विद्यालयमा तालिम, अनुगमनको अभावमा पठाई र सिकाइको स्तर अहिले पनि खास्सै सुधार हुन सकेको छैन । 

जसका कारण पनि सामुदायिक विद्यालय र नीजी विद्यालय विचको खाडल अहिले पनि पुर्न सकिएको छैन । यस विषय तर्फ सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update