News 24 Television
जोखिमपूर्ण सडकमा सवारीसाधनको चाप

दोलखा । गाउँघरमा यतिबेला नेपालीहरुको महान चाड बडादशैंको रौनक छाएको छ । दशैंका लागि भन्दै टाढा टाढाबाट घर फर्किने क्रम जारी छ । तर दशैंको मुखमा बाढीपहिरोले विभिन्न ठाउँका सडक तथा पुलहरु बगाएपछि यो वर्ष सडक यात्रा भने निकै जोखिमपूर्ण छ । 

असोज ११ र १२ गतेको भारीवर्षापछिको बाढीपहिरोले गर्दा सबै मार्गबाट सवारी सञ्चालन हुन सकिरहेका छैनन् । बाढीले खुर्कोटको पुल नै बगाएपछि, लामोसाँघु–जिरी सडक खण्डलाई बैकल्पिक सडक बनाउदै यात्रा गर्नेको लर्को छ । दोलखाबाट तराई जाने बसले पनि एकदमै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । 

चाडपर्व सुरु भएसङ्गै मानिसहरु धमाधम घर फर्कदै छन् । असोज ११ र १२ गतेको वर्षापछि आएको बाढी पहिरोले ठूलो धनजनको क्षति पुर्यायो । विपद्मा अन्य जिल्लाले जस्तै दोलखामा पनि ठूलो भौतिक र मानवीय क्षती ब्यहोर्नु पर्यो । 

उक्त विपद्मा परि दोलखामा एकै परिवारका तीनसहित ८२ जानाले ज्यान गुमाएका छन् । बाढीले पुष्पलाल राजमार्गमा पर्ने मालुखोलाको सडक नै भासिएको छ । तामाकोसीको भेलले देवीटारमा सडक नै कटान गरिदियो । तर पनि बिपि राजमार्ग पुर्ण रूपमा अवरोध हुँदा अहिले यो सडक नै वैकल्पिक मार्ग बनिरहेको छ । 

सानादेखि ठूलो सवारी साधनहरुले पनि अरनिको राजमार्ग र पुष्पलाल राजमार्ग प्रयोग गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार यो सडकमा अहिले दैनिक ६०० देखि ७०० को हाराहारीमा सवारी साधनहरु आवतजावत गरिरहेका छन् ।

धेरै मात्रामा सुमो, इभि जीपहरु चल्ने गरेका छन् । अरनिको यातायातको मात्रै २०० देखि २५० वटा वसहरु यसै रुटबाट चलिरहेका छन् । तर २०७१ सालमा खुर्कोट–रामेछाप जोड्ने पुल बनेसँगै दोलखा र रामेछापका यात्रुलाई काठमाडौ मात्रै होइन, तराई जान पनि उत्तिकै सहज बनेको थियो । बाढीले पुल बगाएपछि जोखिम भएका कारण यो सडकमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।   

बिपि राजमार्ग हुदै खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र कुनै कुनै भोजपुर सम्मको गाडीहरू पनि लामोसाँघु जिरी सडक खण्ड हुदै कुदिरहेका छन् । दोलालघाटदेखि बनदेउसम्मको सडकमा अत्यन्तै जोखिम यात्रा गर्नु परेको यात्रु तथा सवारी चालकहरुहरु बताउँछन् ।

सिन्धुपाल्चोकका केहि स्थानमा एक लेअरमा मात्रै सवारी साधन चल्ने भएकोले यात्राको चाप अत्याधिक बढेको छ । शनिवार पुनः मालुखोलामा पहिरो जाँदा केहि समय सडक  अवरुद्ध भए पनि अहिले निर्वाध यातायात सञ्चालन भइरहेका छन् । 
  
मनसुनजन्य बर्षाको कारणले सडक पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ नै । नेपालीहरुको महाना चाड बडादशैंका लागि घर जाँदै गरेका यात्रुहरुको यात्रा पनि जोखिमपूर्ण बनेको छ । त्यसैले सवारीहरु बाटोको अवस्थालाई ख्याल गरी सञ्चालन गर्न आवश्यक छ । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update