News 24 Television
नेपाल चीनसँग नयाँ सम्झौता गर्दै, के भन्दैछ भारत ?

काठमाडौं । नेपालले विद्युत व्यापार विस्तारलाई प्राथमिकताका साथ बढाउने तयारी गरिरहेको छ । जस अनुसार यही असोज १७ गते नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्ने सम्झौता भइसकेको छ । 

बंगलादेश, नेपाल र भारतका प्रतिनिधिहरुबीच भारतको बाटो हुँदै ४० मेघावाट विद्युत बंगलादेशमा व्यापार गर्ने गरि सम्झौता भएको हो । 

यसरी बंगलादेशसँग विद्युत व्यापारको सम्झौता गरेको नेपालले अहिले चीनतर्फ पनि विद्युत व्यपार गर्नका लागि पहल गरिरहेको छ । 

पछिल्लो समय नेपालले ऊर्जा क्षेत्रमा विकास र विद्युत व्यापारलाई बढाउने उद्देश्य राखि यसै अनुरुपका कदम चालिरहेको छ । भारतसँग विद्युत व्यापार गर्दै आएको नेपालले बंगलादेशसँग पनि विद्युत व्यापार सम्झौतालाई औपचारिकता दिइसकेको छ भने अब अन्य देशहरुसँग सहकार्यका लागि गृहकार्यलाई तीव्रता दिइएको छ । 

नेपालबाट बंगलादेशमा ४० मेघावाट विद्युत व्यापार गर्नका लागि नेपाल, बंगलादेश र भारतका प्रतिनिधि बिच यही असोज १७ गते काठमाडौंमा सम्झौता भयो । यो सम्झौतालाई ऐतिहासिक सम्झौताका रुपमा समेत व्याख्या गरियो । ऊर्जा क्षेत्रबाट व्यापारमा यस सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले पनि सम्झौतालाई विशेष स्थान दिइएको हो । 

बंगलादेशसंग विद्युत व्यापार सम्झौता उर्जा क्षेत्रमा नेपालका लागि कोशेढुङ्गा भएको बताईरहेका बेला सरकारले चीनतर्फ पनि विद्युत व्यापारको तयारी गरिरहेको जनाएको छ । 

यसले अझै नेपालमा उर्जा क्षेत्रमा लगानी गर्नका लागि मनोवल उच्च बनाएको छ । नेपालमा अहिले करिव ३२ सय मेघावाट विद्युत उत्पादन भइरहेको छ भने १२ बर्ष भित्र २८ हजार ५ सय मेघावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्य छ । 

नेपालमा उत्पादन भएको विद्युत सबै नेपाल भित्र मात्रै खपतको सम्भावना छैन । त्यसैले नेपालले छिमेकी भारत र चीनको सहयोगमा अन्य मुलुकहरुमा पनि बेच्नु पर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update