कास्की । नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै शक्तिपिठहरुमा दर्शनार्थीहरुको भिड बढेको छ । पर्यटकीय राजधानी पोखरास्थित फेवातालको बिचमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि अहिले विशेष पूजा–आराधना गर्नका लागि दर्शनार्थीहरुको भिड देख्न सकिन्छ ।
नवरात्र सुरु भएसँगै देशभरका शक्तिपिठहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ । नेपालीहरुको महान चाड बडा दशैं भित्रिएसँगै पुजा–आराधना गर्नका लागि पर्यटकीय राजधानी पोखराको फेवातालमा रहेको प्रसिद्ध तालबाराही मन्दिरमा पनि बिहानैदेखि भक्तजन तथा दर्शनार्थीको भिड लागेको छ ।
यो मन्दिर स्वदेशी तथा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्तव्य त हो नै भक्तजन तथा दशनार्थीको आस्थाको केन्द्र समेत हो ।
अहिले मन्दिरको व्यवस्थापन पक्ष राम्रो भएको र तालबाराही माताको विश्वास लाग्ने भएकाले समय समयमा दर्शन गर्न आउने दर्शनार्थीहरु बताउँछन् ।
तालबाराही मन्दिरमा अन्य देशभन्दा भारतीय नागरिक दर्शन तथा पुजाआजाका लागि बढी आउने गरेका छन् । यस मन्दिरमा अन्य देशका नागरिक घुम्नका लागि आउने गर्छन् भने भारतीय नागरिक धार्मिक प्रयोजनकै लागि आउने गरेको ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
नवरात्र लागेपछि भने स्वदेशी श्रद्धालु भक्तजनको घुइचो लागेको समितिका सूचना अधिकारी राजेन्द्र खत्री बताउँछन् । २०७२ सालको भूकम्पका कारण भूइँतलासहित तीन तले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माणका लागि मन्दिर भत्काइएको छ । अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो ।
पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणको काम समेत भइरहेको छ । धार्मिक हिसाबले निकै प्रख्यात रहेको यस ताल बाराही मन्दिर पहिलाकै जस्तै पुरातात्वीक अवस्थामै रहने गरि पुनर्निर्माणमा भइरहेको छ ।
माछापुच्छ«े हिमालको छायाँ देखिने फेवा तालको बीच भागमा रहेको सानो टापुमाथि प्यागोडा शैलीको यस मन्दिरलाई प्राचीनकालदेखि तालबाराही मन्दिरका रुपमा पुजिँदै आएको हो ।
मन्दिर पुग्नका लागि डुङ्गा चढेर जानु पर्छ भने पोखरा आउने अधिकांश धार्मिक पर्यटक यो मन्दिरमा पुग्ने गर्छन् । नवरात्र अवधिभर यहाँ आउने भक्तजनका कारण नै मन्दिर परिसर दिनभर नै खचाखच भरिएको हुन्छ ।
तालमा देखिने माछापुच्छ«े हिमालको छाया र मन्दिर परिसरबाट देखिने हिमाली शृङ्खला, सराङकोट, विश्व शान्ति स्तूप जस्ता दृश्यले पर्यटकलाई समेत लोभ्याएको छ ।