रौतहट । लगातार सवारी साधन चलाउँदा हुनसक्ने स्वास्थ्य जोखिम र सडक दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले सिभिल अस्पताल चन्द्रनिगाहपुरको प्राविधिक सहयोगमा राजमार्गमै चालकहरुको स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको छ ।
स्वास्थ्य परिक्षणको क्रममा चालकहरुमा उच्च तथा न्यून रक्तचाप, रुघाखोकी, छाति तथा पेटको समस्या, अनिन्द्रा, टाउको दुःखाइ लगायतका समस्याहरु बढि देखिएको सिभिल अस्पतालले जनाएको छ ।
यस अघि पूर्व जाने सवारीहरु विपि राजमार्ग हुँदै काठमाडौं जाने गरेका थिए । तर केही दिन अगाडिको बाढी पहिरोले विपि राजमार्गको विभिन्न स्थानहरुमा क्षति पुर्याएर बन्द भएपछि अहिले ती सवारीसाधनहरु पुर्वपश्चिम राजमार्ग हुँदै काठमाडौं जाने गरेका छन् ।
दशैंमा काठमाडौंबाट घर फर्कनेहरुलाई ओसार पसार गर्दा सडकमा सवारी साधनहरुको चाँप अत्याधिक बढिरहेको छ । लामो समयसम्म सवारी चलाइरहनु पर्दा चालकहरुको स्वास्थ्यमा समस्या देखापरेको छ । सडकमै स्वास्थ्य परिक्षण गर्न पाएकोमा चालकहरु खुसी भएका छन् ।
यो कार्यक्रमको पहिलो दिन १ सय बढी सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण गर्दा स्वास्थ्य देखिएकालाई सामान्य औषधीहरु निशुल्क दिइएको छ ।
दशैंमा राजधानी छाड्नेहरुको संख्या उच्च हुँदा चालकहरुले बिना आराम लगातार सवारी चलाउँदा थकाइ र खराब स्वास्थ्यको कारण हुनसक्ने दुर्घटना जोखिम न्यूणीकरण गर्न यो कार्यक्रमले मद्दत गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले विश्वास लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा रौतहट जिल्लामा मात्रै ६७३ वटा सवारी दुर्घटना हुँदा ६६ जनाको मृत्यु र १ हजार ७४ जना घाइते भएका थिए ।
यो आर्थिक वर्षको पहिलो २ महिनामा मात्र ९३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र १५५ जना घाइते भएका छन् । दुर्घटना रोक्न ट्राफिक प्रहरीले गरेको यो कार्यप्रति स्थानियले पनि खुसी व्यक्त गरेका छन् ।
सवारी दुर्घटनाको प्रमुख कारण सवारी चालकको लापरवाही देखिएको ट्राफिक प्रहरीको भनाइ छ । समय समयमा गरिने यस्ता स्वास्थ्य परिक्षणले चालकहरुलाई मानसिक तथा शारिरिक रुपमा चुस्त राख्न मद्धत गर्ने भएकाले दुर्घटना न्यूणीकरण हुने विश्वास गरिएको छ ।
यस्ता कार्यहरुलाई चाडपर्वको बेला मात्र होइन अन्य समयमा पनि निरन्तरता दिनुपर्ने स्थानीयको माग छ ।