काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो निर्वाचन क्षेत्रमै कालोझण्डा र प्रदर्शनको सामना गरिरहेका छन् ।
सहकारी पीडितले रविले सहकारीको रकम अपलचन गरेको आरोप लगाउदै प्रदर्शन गर्न थालेपछि रास्वपाले कार्यक्रम स्थलमा कांग्रेस एमालेका कार्यकर्ताले अवरोध गर्न खोजेको आरोप लगाउन थालेको छ ।
सहकारीको रकम अपचलनमा आफूले क्लिन चिट पाएको दाबी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने आफ्नै निर्वाचन क्षेत्रमै घेराबन्दीमा पर्न थालेका छन् ।
जान्नेलाई छान्ने नारा दिएर उदाएका रवि गोरखा मिडियामा हुँदा गितेन्द्रबाबु राई जीबीले अपचलन गरेको सहकारीको रकम अपचलनमा दोषी ठहर भएका छन् ।
संसदीय समितिले सहकारीको रकम गोरखा मिडियामा आएको र त्यो रकम रविको एकल हस्ताक्षरबाट खर्च गरिएको भन्दै रविलाई पनि जिम्मेवार ठानेको छ ।
यस्तोमा रविले पनि दायित्व लिनुपर्ने हो वा के हो भन्ने विषयमा अनुसन्धान चलिरहेको सरकारले बताइरहेको छ । तर, चितवनमा पुगेका रविलाई मुग्लिनदेखि नै कालोझण्डा र विरोध भने गर्न थालिएको छ।
नीति मन्थनका लागि भन्दै निर्वाचन क्षेत्रमा पुगेका रविले मुग्लिनमा पनि विरोध र कालोझण्डाको सामना गरे ।
मुग्लिनमा देखाइएको कालोझण्डा र नाराबाजीपछि चितवनको नारायणी कला मन्दिरमा पनि यस्तै दृश्य दोहोरियो ।
प्रदर्शनकारीहरुले नाराबाजीसहित रवि उपस्थित कार्यक्रमस्थलमै जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको छ भने केहि घाइते समेत भएका छन् ।
सहकारी पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाउन जाँदा आफुमाथि प्रहरीले ज्यादति गरेको र विरोध गरिएको अनेरास्ववियू चितवनले जनाएको छ ।
रास्वपाले भरतपुरको नारायणी कला मन्दिरमा दुग्ध क्षेत्रको विकास विषयक नीति मन्थन कार्यक्रम राखेपछि पीडितहरु प्रदर्शन गर्दै त्यहाँ पुगेका थिए ।
यसरी प्रदर्शनमा जानेहरुमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसको विद्यार्थी संगठन नेविसंघ पनि थियो । यहि विषयलाई रास्वपाले कार्यक्रम विथोल्नका लागि कांग्रेस एमाले सक्रिय बनेको आरोप लगाएको छ ।
कार्यक्रम स्थलमा प्रदर्शनकारीहरु जान खोजेपछि रास्वपा कार्यकर्ताले भित्रबाट ढुंगा प्रहार गरेका थिए । भित्रबाट प्रहार गरिएको ढुंगा लागेर केहि घाइते भएका छन् ।
घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तर, रास्वपा भरतपुर महानगर सभापति सिता ज्ञवालीले भने ढुंगा प्रहार गरिएको विषय अस्वीकार गरेकी छन् ।
बाहिबाट हानिएको ढुंगा बाहिर फालिएको भन्दै गुमाउरो शैलीमा ढुंगा हानेको स्वीकार भने गरेकी छन् ।
सहकारीको रकम अपचलनमा रविले देशका विभिन्न क्षेत्रमा विरोधको सामना गर्दै आएका छन् । केहिदिन पहिले पोखरामा समेत यसरी नै विरोध भएको थियो भने सडकमै उत्रिएर पीडितले नाराबजी गरेका थिए । तर, रविले आफूलाई सहकारीको रकम ठगीबारे केहि थाहा छैन भन्दै आएका छन् ।
सहकारीबारेका प्रश्नमा अधिकांश समय थाहा छैन भन्ने जवाफ दिने गरेका रविमाथि पीडितले भने वचत फिर्ता र कारबाही हुनुपर्ने माग राख्दै आएका छन् ।
यो अवस्थाका बीच रविले भने सरकारले आफूमाथि दशैंपछि मुद्दा चलाउने तयारी गरिरहेको भन्दै त्रसित छन्, तर ठगी गरेको भनि स्वीकारेका छैनन् । तर, गोरखा मिडियामा प्रवाह भएको रकममा जवाफदेही हुने भने बताएका छन् ।
रविले सहकारीको रकम ठगी नगरेको तर गोरखा मिडियामा आएको रकम चलाएकाले यसको जिम्मा लिने बताए । तर, रविलाई पक्राउका लागि सरकारलाई बल पुग्ने आधार बनेको छ रविका पूर्वसहकर्मी छविलाल जोशी पक्राउ पर्नु र छविलाई थुनामुक्त गर्न अदालतले अस्वीकार गर्नु ।
छविलाई जस्तै रविलाई पनि संसदीय समितिले कारबाही सिफारिस गरेकाले सरकारले चाल्ने कदममा रविलाई पक्राउको सम्भावना जिवितै छ ।