News 24 Television
अग्रिम टिकट लिनेलाई नै दशैंमा घर जान सकस

काठमाडौं । दशैं मनाउन घर फर्किन लागेका यात्रुहरुले ज्यानको बाजी मारेर यात्रा गर्नुपर्ने अवस्था आई लागेको छ । सरकारले दशैंमा घर फर्किन चाहने यात्रुलाई सुरक्षीत गन्तब्यमा पु¥याउन ठोस योजना ल्याउन नसक्दा यात्रुहरुले थतथलो पुग्न ज्यानै बाजी लगाउनुपर्ने अवस्था आएको हो ।

दशैंको मुखमा विभिन्न ठाउँमा सडक भत्किएर जोखिमयुक्त यात्रा गर्नुपर्ने अवस्थामा एउटै बसको क्याबिनमा मात्रै ३० जनासम्मको टिकट काटेको भेटिएको छ ।

बडा दशैंका क्रममा घर फर्किने यात्रुहरुको यतिबेला काठमाडौंको नयाँ बसपार्कमा भिँड लागेको छ । दशैंमा यात्रुको चाप बढी हुने भएकाले असोज १२ गतेदेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको थियो । घटस्थापनादेखि नै यात्रुहरु घर फर्किने क्रम जारी रहेको छ । तर दशैंको मुखमा असोज ११ र १२ गतेको भारीवर्षापछि आएको बाढीपहिराले विभिन्न सडकको अवस्था जीर्ण बनेको छ । 

पहिरोको जोखिम पनि उत्तिकै छ । यस्तो जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थामा सिट भन्दा बढी टिकट काटिएका छन् । 

गोंगबुस्थित नयाँ बसपार्कको काउन्टरबाटै क्याबिन खाली छ भन्दै एउटै बसको ३० वटा अतिरिक्त टिकट काटेको भेटिएको छ । यसरी टिकट काटिएपछि यात्रुहरु आक्रोशित देखिन्छन् । 

सुर्खेतको लागि क्याबिनको अग्रिम टिकट लिएकी कविता सुनारले बसमा पाइला टेक्ने ठाउँसमेत भेटिनन् । ९ बर्षको छोरा र आफु गरेर ५ हजारमा २ वटा अग्रिम टिकट लिएकी कविताको क्याबिनमा बस्ने अवस्था नै रहेन । 

कविता जस्तै थुप्रै यात्रुहरु यसरी नै ठगिएका छन् । यात्रुहरुको काउण्टरबाटै थमाईएको टिकटमा सम्पर्क नम्बर छ । तर उक्त नम्बरमा फोन गर्दा फोन समेत नउठ्ने यात्रुहरुको गुनासो छ । टिकट पाएकाहरुले पनि निर्धारित भाडादर भन्दा दोब्बर नै तिर्नु परेको गुनासो गरेका छन् ।  

तर यातायात कर्मचारीहरुले यात्रुलाई मर्का नपर्ने गरी टिकट काटिरहेको दाबी गर्छन् । बसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से कम्पनीका प्रतिनिधिहरु पनि यात्रुलाई सहज हुने गरी टिकट बुकिङ भइरहेको बताउँछन् । 

अग्रिम टिकट बुकिङ गरेका यात्रुहरुको बिचल्ली हुँदा पनि सरोकारवाला निकायहरु बेखबरजस्ता बनेका छन् । ट्राफिक प्रहरीलेसमेत यात्रुहरुको गुनासो नसुनेको उनीहरुको आरोप छ । तर प्रहरीले भने आफूहरुले सहजीकरण गरिरहेको बताइरहेका छन् ।  

दशैंमा घर फर्किनेहरुको चाप बढी हुने भएकाले नै अग्रिम टिकट बुकिङ गरिएको हो । अग्रिम टिकट लिएका यात्रुहरुलाई सहज रुपमा गन्तब्यमा पु¥याउनुपर्ने यातायात ब्यवसायीहरुको जिम्मेवारी हो । 

यात्रुलाई असहज हुने गरी सिट संख्या भन्दा बढी यात्रु बोक्ने कार्य रोकिनुपर्छ भने मनपरी भाडा असुली गर्नेलाई सम्बन्धित निकायले कारबाही गर्न जरुरी छ । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update