कास्की । सर्जक स्वर्गीय प्रेमप्रकास मल्लले लेखेको गीतमा भनिएको छ “पोखरा त साँच्चिकै पोखरा नै रहेछ, फेवातालमा माछापुच्छ्रे पौडी खेल्ने रहेछ’ । तर आजकल यो गीत गीतमै सिमित जस्तो लाग्छ । किनकी फेवातालमा माछापुच्छ्रे भन्दा बढी फोहोर पौडी खेल्छ । नपत्याए हेर्नुहोस् त फेवातालको ड्यामसाइडको यो दृष्य । कसरी फेवामा पौडिरहेको छ फोहोर ।
असोज महिनासंगै पोखरामा पर्यटनको सिजन सुरु भयो । यो संगै स्वदेशी र विदेशी पर्यटक पोखरा आउन थालेका छन् । तर पोखरा आउने वित्तीकै पर्यटकको पहिलो नजर पुग्ने फेवातालको अवस्था भने यस्तो छ ।
लाग्छ फेवा ताल हैन फेवा ढल बनिसक्यो । केही दिन पहिले परेको पानी अनि त्यो संगै फिर्के र बुलौंदी खोलाले बगाएर ल्याएको फोहोर तालमा मिसिएपछि फेवाको रुप कुरुप हुन पुगेको हो ।
पर्यटन सिजनको सुरुवातमै फेवाको रुपलाई सुन्दरता दिन पोखराका पर्यटन व्यवसायीदेखि सरोकारवाला सबै ताल सफा गर्न कसैको मुख नताकी आफै जुटे । टान गण्डकीले आयोजना गरेको कार्यक्रमलाइ गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल टुरिजम वोर्ड लगायतका संघसंस्थाले सहकार्य गरेका थिए ।
पानी पर्ने वित्तिकै फेवातालमा फोहोर टिप्न आउने भन्दा पनि, फेवातालमा मिसिने खोलाबाट बगेर तालमा आउने फोहोरलाई पहिले नै नियन्त्रण गर्ने हो भने फेवातालको फोहोरको समस्या दीर्घकालीन रुपमा हटेर जाने पोखरा पर्यटन परिषदका वरिष्ठ उपाध्यक्ष हरि भुजेलको भनाइ छ ।
अहिले ड्यामसाइडबाट राउण्ड फेवा भ्यु फेवा हाइकिङ ट्रेल सुरु भयको छ । तर त्यसकै सुरुवाती बिन्दुमा यस्तो फोहोर भएकाले, संस्थाको उद्देश्यमा नपरेपनि फेवाताल सरसफाईमा टान लागिपरेको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्य बताँउछन् ।
पोखराको फेवातालमा फोहोर र जलकुम्भी दीर्घकालीन समस्या बनेको छ । यसरी केही व्यक्तीले गर्ने सरसफाइ र अभियानले ताल क्षणिक सफा त होला, तर दिर्घकालीन समस्या समाधानका लागि महानगर, प्रदेश र केन्द्र सरकारबाटै थप आवश्यक पहल हुन जरुरी छ ।