News 24 Television
दशैंमा मकवानपुर जानै खतरा ! कसरी के गर्ने ?

मकवानपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाले देशका धेरै जिल्लाहरुमा वितण्डा मच्चायो । हजारौं घर डुबानमा परे । यसै विपत्तिमा परेर करिब ३ सय जनाले ज्यान गुमाए । 

देशका धेरै सडक सञ्जालहरु हालसम्म पनि अवरुद्ध छन् । यसैमध्येको एउटा सडक हो, काठमाडौंबाट तराईका जिल्लाहरु जोड्ने हेटौंडा–कुलेखानी–काठमाडौं सडक । यो सडक अवरुद्ध हुँदा चाडपर्वका समय यात्रुहरुले सास्ती खेप्न परिरहेको छ । 

काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने छोटो दूरीको हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडक यतिबेला पूर्ण रुपमा अवरुद्ध छ । 

गत बिहीबारदेखि परेको अविरल बर्षाका कारण आएको पहिरोका कारण यो सडमा करिब डेढ दर्जनभन्दा बढी ठाउँमा सडक भत्किएको छ । सानातिना पहिरो स्काभेटरले पन्छाए पनि ठुला ठुला पहिरो र मोटरेबल पुल नै बगाएपछि दशैंको बेला यी सडकबाट यात्रा गर्न पाइन्छ कि पाइँदैन भन्ने अन्योलता कायमै छ । यता, सोमबारदेखि तीनै तहका सरकारहरु यस सडक मर्मतका लागि लागिपरेका छन् । 

चाडपर्वका समयमा यात्रुहरुको सहजताका लागि हेटौंडा र काठमाडौं दुवैतर्फबाट सडक मर्मतको काम भैरहेको छ । तथापी, सडकको अवस्था निकै बिग्रीएका कारण मर्मतका लागि केही समय लाग्न सक्ने प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालय हेटौंडाका इञ्जिनियर अभिसेक मरासिनी बताउँछन् । 
त्यसोत, मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको जलाशायको बाँध खोल्दा इन्द्रसरोवर गाउँपालिका–३ मा पर्ने सिस्नेरी बजार समेत बगायो । 

पहिरोमा परेर जना एन्फाका विद्यार्थीहरुले समेत ज्यान गुमाउन पुगे । सोही पानीका कारण सिस्नेरीमा पर्ने सडक नै खोलाको बगरमा मिसिएको छ । 

पुल भत्किएको अवस्था छ । तर प्रदेश र संघ राजधानी आवतजावत गर्नका लागि प्रदेश सरकारका मन्त्री आफै त्रिभुवन राजपथ अन्र्तगत पर्ने हेटौंडा–पालुङ–चन्द्रागिरी–काठमाडौं सडकको प्रयोग गरिरहेका छन् । 

प्रदेशका आधा दर्जन भन्दा बढी जिल्लाहरुमा बर्षाले विपत्ति निम्त्याएका बेला यस्ता अवरुद्ध सडक सञ्चालन गर्न प्रदेश सरकारले के गरिरहेको छ त ? 

सडक सञ्चालनका लागि नेपाली सेनाले तीव्र रुपमा काम गरिरहेको बताइएको छ । सिस्नेरी हुँदै काठमाडौं जाने सडक बन्न केही समय लागे पनि हेटौंडा–भीमफेदी–फाखेल–काठमाडौंको सडक सञ्चालनमा ल्याउने कोसिस भैरहेको सरोकारवाला निकायहरुको दाबी छ ।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update