News 24 Television
रोजगार र सीपमूलक हुन नसकेको विश्वविद्यालय शिक्षा, सुध्रिने कहिले ? 

काठमाडौं । शिक्षा व्यक्तिलाई ज्ञान, सीप र योग्यतामा निपूर्ण बनाउने महत्वपूर्ण आधार हो । यी सबै कुरामा पारङ्गत बनाउँदै शिक्षाले रोजगारका अवसरहरु पनि प्रदान गर्छ । तर नेपालमा शिक्षा रोजगारीसँग जोडिन सकिरहेको छैन । 

सार्वजनिक विद्यालयहरूको स्तर सुधार नहुँनु र विश्वविद्यालयहरूले जीवनपयोगी र रोजगारमूलक शिक्षा प्रदान गर्न नसक्दा ‘ब्रेन ड्रेन’को समस्या नेपालका लागि विकराल बनिरहेको छ । 

वैदेशिक रोजगारीमा बढ्दो निर्भरतालाई घटाउन स्वदेशमै पर्याप्त रोजगारका अवसर सिर्जना गर्ने किशिमको शिक्षाका लागि पाठ्यक्रम रुपान्तरण नगरेसम्म यो समस्या समाधान हुन मुस्किल छ । 

नेपालमा शिक्षा र रोजगारको अवस्था चुनौतीपूर्ण र परिवर्तनशील छ । विगतका वर्षहरूमा शिक्षा क्षेत्रमा केही प्रगति भए पनि गुणस्तरीय शिक्षाको पहुँच अझै सबैका लागि समान रूपमा उपलब्ध छैन । 

ग्रामीण क्षेत्रमा शिक्षाको अभाव र शहरी क्षेत्रमा शिक्षाको असमान वितरणले अवसरमा विभाजन निम्त्याएको छ ।

सार्वजनिक विद्यालयहरूको गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता छ भने निजी विद्यालयहरूले प्रायः महँगो शुल्क लिने हुँदा सबैलाई उपलब्ध छैन । उच्च शिक्षाका लागि नेपालमा सीमित स्रोत र अवसर हुँदा धेरै विद्यार्थीहरूले विदेशमा पढ्न जाने विकल्प रोजिरहेका छन् । 

देशभित्रको विश्वविद्यालय शिक्षामा पनि पाठ्यक्रम र बजारको मर्मसँग मेल नहुँदा धेरै युवा बेरोजगारीको समस्यामा छन् । विश्वविद्यालय शिक्षामा प्राप्त हुने सीप र ज्ञानले आधुनिक रोजगार बजारको मागलाई पूरा गर्न नसक्दा स्नातक गरेपछि पनि धेरै विद्यार्थीहरूलाई रोजगारी पाउन कठिनाइ भैरहेको छ । 

विश्वविद्यालयहरूले पाठ्यक्रमलाई रोजगार बजारको माग अनुरूप व्यावहारिक र सीपमूलक शिक्षा प्रदान गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ । 

विश्वविद्यालयले उद्यमशीलता र स्टार्टअपमा जोड दिएर विद्यार्थीहरूलाई आत्मनिर्भर र स्वरोजगारतर्फ उन्मुख गराउन शिक्षाका जानकारहरूले जोड दिने गरेका छन् । 

कृषि प्रधान अर्थतन्त्र भएको नेपालमा रोजगारका अवसरहरू सीमित छन् । औद्योगिक र व्यावसायिक क्षेत्रमा तीव्र विकास नहुँदा स्वरोजगार र उद्यमशीलतामा ध्यान दिनुपर्ने आवश्यकता छ ।

विदेशमा रोजगारीका अवसर खोज्ने युवाहरूको संख्या बढ्दै जाँदा देशमा ‘ब्रेन ड्रेन’को समस्या जटिल बन्दै गएको छ । नेपालमा रोजगारीको सृजनाका लागि गुणस्तरीय शिक्षा, व्यावसायिक सीपको विकास, र उद्यमशीलतामा लगानी अपरिहार्य देखिन्छ । 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update