मकवानपुर । बडा दशैंको पहिलो दिन घटस्थापना गरी विधिवत् रुपमा जमरा राख्दै दशैंको सुरुवात भएको छ । दशैंमा नवदुर्गा भवानीको पूजा आरधाना गर्ने प्रचलन अनुसार हेटौंडाका विभिन्न चोकहरुमा नवदुर्गाको मुर्ति प्रतिस्थापन गरेर सामूहिक जमरा राखिएको छ ।
बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा दशैंको पहिलो दिन यहाँ रहेका मन्दिर तथा चोक चोकमा बनाइएको दुर्गाको मन्दिरहरुमा जमरा राखिएको छ । दशैंको सुरुवातसँगै हेटौंडाका शक्तिपीठहरूलाई दुलहीझैँ सिँगारिएको छ । यहाँ विभिन्न शक्तिपीठहरू आकर्षक बनाएर सजाइएका छन् भने विभिन्न चोकहरुमा दुर्गाको मुर्ति प्रतिस्थापन गरी सामूहिक रुपमा जमरा राखेर दुर्गा पूजा पनि गरिदैछ ।
त्यसो त, सामूहिक जमरा राखेर पुजा–आराधना गर्दा मन्दिरहरुमा गएजस्तै आस्था राखेर धेरैजसो दर्शन गर्न आउने गरेका छन् ।
यसरी दुर्गाको मुर्ति प्रतिस्थापन गरेर पूजा गर्दा, विधिवत् रुपमा पूजा गरिएको जमरा लगाउन पाइने स्थानीयको भनाइ छ । भक्तजनहरु प्रसाद ग्रहण गर्नका लागि जमरा राखिएका स्थानहरुमा पुग्ने गरेका छन् ।
दशैं सुरु हुनु अघिदेखि नै भारतबाट कालिगढ ल्याएर मुर्ति निर्माण गरेर जमरा राख्नको लागि तयार बनाइएको हेटौंडा–२ स्थित दुर्गा पूजा समितिका आयोजक बताउँछन् ।
हेटौंडाको स्कुलरोड, कर्रा, मेनरोड, संगमचोक लगायतका स्थानहरुमा विभिन्न क्लबहरुले पण्डाल तयार गरेर दुर्गा भवानीको मुर्ती स्थापना गरेर जमरा राखेका छन् ।
दुर्गादेवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा सनातनी परम्परामा रहि आएको छ ।
नवरात्र भनेर समेत चिनिने बडा दशैँको विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।