News 24 Television
प्याराग्लाइडिङ सारिएपछि पर्यटकलाई खल्लो बन्दै पोखरा 

कास्की । कुनै समय थियो पोखरा र प्याराग्लाइडिङ एक अर्काका पर्यायवाची थिए । तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो ।

जसका कारण रङ्गीचङ्गी प्याराग्लाइडिङहरू बिनाको पोखरा खल्लो हुँदै गएको छ । यति मात्रै होइन कि पोखराको प्याराग्लाइडिङ अहिले आफ्नो अस्तित्व रक्षाको लडाईमा छ । 

पोखरा सराङकोटको यो सुन्दर दृश्य देख्दा जो कसैलाई पनि लाग्थ्यो कि पोखराको आकाशमा रङ्गीचङ्गी पुतलीहरू उडिरहेका छन् । 

सराङकोट र सराङकोटको आकाशमा देखिने यो दृश्य अहिले एकादेशको कथा जस्तै लाग्छ । पोखरा आउँदा प्याराग्लाइडिङ गरिएन भने यात्रा नै खल्लो जस्तो लाग्थ्यो, तर अहिले पोखराको सराङकोटमा उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्रै स्थानान्तरण गरिएपछि पोखराको शौन्दर्य नै हराए जस्तो भएको छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कुनै विमान मिस अप्रोच भई पोखराको पश्चिमतर्फ गयो भने त्यसलाई अवरोध हुने आशंकामा पोखराको सराङकोटबाट भइरहेको प्याराग्लाइडिङ उडान सराङकोटबाट केही किलोमिटर टाढा तोरीपानी र मान्द्रेढुङ्गामा सारियो । 

जसका कारण पोखरा बजारबाट प्याराग्लाइडिङ उडेको दृश्य नै देख्न सकिन्न । विश्वका थुप्रै सहरहरूमा अन्तर्राष्ट्रिय विमानस्थल र प्याराग्लाइडिङ सँगसँगै भइरहेका छन्, तर पोखरामा आधुनिक सुरक्षा प्रणाली र प्रविधिको प्रयोग नगरिकन प्याराग्लाइडिङलाई नै विस्थापित हुने तरिकाले अन्यत्र सारिएको जानकारहरूको बुझाई छ ।

पोखराको प्याराग्लाइडिङलाई सराङकोटबाटै सञ्चालन गर्न सक्ने थुप्रै आधार र प्रमाण छन् , यसका लागि राज्यका निकायहरूले तदारुकता देखाउनु पर्ने यसका विज्ञहरु बताउँछन् ।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे वान–टु को प्रयोग गरेर कुनै पनि उडान र अवतरण तय भएका छैनन् । यदि रनवे थ्री–जिरोबाट अवतरण गर्दा मिसअप्रोच भएको खण्डमा मात्रै विमान पोखराको पश्चिमी भागतर्फ जान्छ, र अहिलेका आधुनिक विमानहरू प्राय सबै तुरुन्त ५ हजार फिटको उचाइमा पुग्न सक्ने भएकाले सराङकोटको प्याराग्लाइडिङले कुनै पनि अवरोध नगर्ने पाइलट एवं प्रशिक्षक भट्टराईको जिकिर छ ।

अहिले पोखरामा उड्ने हरेक प्याराग्लाइडिङमा उच्च प्रविधि जडान गरिएको छ ।  नागरिक उड्डयन प्राधिकरणले तोकेको घेराभित्र ती प्याराग्लाइडिङहरू उड्ने गर्छन् । 

कुन ग्लाइडर कहाँ उडेको छ त्यसको उच्च प्रविधिमार्फत् प्रत्यक्ष निगरानी हुन्छ, जसको सम्पर्क सिधै विमानस्थलको टावरमा राख्न सकिने भएकाले टावरले दिएको सूचनाका आधारमा ५ देखि १० मिनेटमा प्याराग्लाइडरहरूले आकाश खाली गर्न सक्ने प्रविधि चडान गरिएको छ ।

पोखरामा अहिले जेनतेन प्याराग्लाइडिङको टेन्डम फ्लाइट चले पनि सोलो उडान भने शून्य छ । जसका कारण वार्षिक पाँच हजारको संख्यामा नेपालमा सोलो उडान भर्न आउने विदेशी पर्यटकहरू आउनै छाडेका छन् । 

यो सँगै प्याराग्लाइडिङको विश्वव्यापी संस्था फेडरेसन अरोनेटिक इन्टरनेसनल (एफ ए आई) को प्रि–वल्र्ड कप र वल्र्ड कप समेत हुन छाडेको छ । पोखराको सराङकोट प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट तेस्रो गन्तव्य मानिन्छ । 

आगामी दिनमा नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक छलफल र सहकार्य गरी पोखरामा प्याराग्लाइडिङको सोलो उडान गराउने र विदेशी पर्यटक आकर्षित गर्ने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसी बताउँछन् । 

पोखरामा अहिले प्याराग्लाइडिङ उडाउने ५२ वटा कम्पनी सञ्चालित छन् । कुनै समय नेपाली पाइलटको अभावमा विदेशी पाइलटहरू प्याराग्लाइडिङको माध्यमबाट रोजगारीको खोजीमा नेपाल आउने गर्थे तर अहिले पोखरामै ३९९ जना पाइलट रहेका छन् । 

सराङकोटबाट प्याराग्लाइडिङ विस्थापित भएपछि लगभग १०० जना पाइलट यो पेशाबाटै बाहिर निस्किएका छन् भने ५० जना नेपाली पाइलट विदेश पलायन भइसकेका छन् । 

पोखराको प्याराग्लाइडिङबाट मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी १२ सय जना भन्दा बढीले रोजगारी पाएका छन् । तर पर्याप्त अध्ययन र विकल्पको खोजी नगरी सराङकोटबाट प्याराग्लाइडिङ अन्यत्र लैजाँदा पोखराको सौन्दर्यमा कमी त आएको छ नै कैयौँको रोजगारी गुमेको र पर्यटक आकर्षणको गन्तव्य पनि हटेको महसुस भएको छ । 

यसतर्फ नागरिक उड्डयन प्राधिकरण सम्बन्धित मन्त्रालय र प्याराग्लाइडिङ व्यवसायीहरू एक ठाउँ भएर उत्कृष्ट विकल्प निकाल्नु बाहेक अरु कुनै विकल्प छैन । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update