News 24 Television
कुष्ठरोगले निमोठेको जीन्दगीमाथि फेरि यस्तो दर्दनाक चोट ! 

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल वर्षाले यति ठूलो धनजनको क्षति गर्छ भनेर कसै पनि कल्पना नै गरिएको थिएन । यस पटकको प्राकृतिक विपत्तिसँग जोध्दै बल्ल बल्ल जोगिएकाहरुलाई अहिलेसम्म पनि अलि ठुलो आवाज आए वस्तीमा उर्लेको बाढी र पहिरोको गडगडाहट झै लाग्छ र झस्काउछ ।  

यति ठुलो विपत्तिका कारण प्रभावितहरु अझै पनि निदाउन सकिरहेका छैनन् । जतिबेला पनि पहिरो खसेको त्यस दिनको आवाज मात्रै उनीहरुको कानमा गुन्जिरहन्छ । 

उनी हुन् रुकुमको गोदामकोटकी ७७ वर्षीया, कमला सिंह ठकुरी । अन्य सामान्य दिन जस्तै असोज ११ गते पनि उनी खान खाएपछि सुत्ने तयारीमा थिइन् । बाहिर भिषण वर्षा भैरहेको थियो । ठूलो वेगले एक्कासि ड्याङडुङ्ग आवाज सुनिन् । 

गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन लेप्रसी मिसन अस्पतालको ‘पीओडी वार्ड’का झ्यालहरू चर्किए । जहाँ उनी बसिरहेकी थिन् । 

उनी बसेको कोठामा पानी भरिँदै गयो । बाहिर निस्कँदा सँगैरहेको स्टाफको क्वाटर बगाई सकेको थियो । आफू निस्कन् सकेकी थिइन् तर पनि उनले आनन्दवन लेप्रसी मिसन अस्पतालका कर्मचारीहरू सम्झिइन् । फोन गरेर सचेत गराइन् । त्यसपछि उनी उद्धारको पर्खाईमा खुव चिचाइन् र रोइन् । 

४० वर्ष देखि निरन्तर गोदावरी नगरपालिका–६ मा रहेको आनन्दवन लेप्रसी मिसन अस्पतालमा उपचार गराईरहेकी ठकुरीलाई त्यो रात सम्झँदा कताकता सपना जस्तो लाग्छ । 

पहिरोका आवाज अझैं उनका कानमा गुञ्जन्छ । पीओडी वार्डबाट उद्धार गरेर आनन्दवन अस्पतालकै ‘आशा वार्ड’को वेड नं १० मा भेटिएकी ठकुरीलाई त्यो रात मर्छु भन्ने डर लाग्यो कि के भयो ? भनि हामीले जिज्ञासा राख्यौं । उनले मुस्कुराउँदै ‘मरे पनि एक्लै बाचे पनि एक्लै’ जवाफ फर्काइन् । 

त्यसपछि उनको विगत जान्ने कौतुहल्ता बढ्यो । उनको विवाह १३ वर्षको उमेरमा भएको रहेछ । १८ वर्षको हुँदा उनका तीन छोरा भैसकेका थिए । उनीहरूको अहिले विवाह भैसकेको छ । युवा अवस्थामा उनलाई कुष्ठरोग लाग्यो र उनले दुबै हात र खुट्टा गुमाउनु प¥यो ।

त्यसकारण पनि उनी पहिरो जाँदा भाग्न सकिनन् । करिब १० घण्टा उनी जीवन–मरणको दोसाँधमा थिइन् । गत बैशाखमा आनन्दवनमा डढेलो लागेका कारण माटो खुलुको भएका कारण असोज ११ र १२ गते परेको अविरल वर्षाले ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, स्थानीयहरूले भने ढलको उचित निकासमा ध्यान नखिएका कारण पहिरोमा जनधनको क्षति भएको गुनासो गरेका छन् । पहिरोमा परि आनन्दवन अस्पतालमा काम गरी बस्ने ३० वर्षीय विवेक सिंह मृत्यु भएको छ । 

व्यवस्थापकीय कमजोरी र लापरबाहीका कारण अझ पनि आनन्दवनमा अस्पताल जोखिममा स्थानीयहरूको भनाई छ । कमला सिंह ठकुरी जस्तै दर्जनौं बाढीपहिरो पीडित अझै पनि त्रासको मानसिकतामा छन् । राज्यले पीडितलाई अन्य व्यवस्थापकीय सहयोगसँगै मनोपरामर्शको समेत व्यवस्था गर्न आवश्यक देखिन्छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update