News 24 Television
विदेश मोहसँगै विद्यार्थीमा चिकित्सा शिक्षामा आकर्षण 

काठमाडौं । चिकित्सा शिक्षातर्फ विद्यार्थीहरूको आकर्षण दिन प्रतिदिन बढ्दै गइरहेको छ । समाजमा योगदान पु¥याउन सक्ने अवसर र चिकित्सा पेशाको प्रतिष्ठा पनि विद्यार्थीहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने महत्वपूर्ण कारण हुन् । अझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा दक्षजनशक्तिको मागले विद्यार्थीको आकर्षण बढेको छ । 

चिकित्सा शिक्षातर्फ नेपाली विद्यार्थीहरूको रुचि पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको छ । नेपालमा स्वास्थ्य सेवाको पहुँच विस्तार हुँदै गर्दा, स्वास्थ्यकर्मीको आवश्यकता र अवसर पनि बढिरहेको छ, जसले विद्यार्थीहरूलाई यो क्षेत्रप्रति आकर्षित गरिरहेको छ। नेपाली समाजमा डाक्टर र स्वास्थ्यकर्मीहरूलाई उच्च सम्मानको दृष्टिले हेरिन्छ जसले गर्दा यो पेशा प्रतिष्ठित मानिन्छ । 

त्यसमाथि, चिकित्सा क्षेत्रमा दीर्घकालीन रोजगारी र आर्थिक स्थायित्वका कारण पनि धेरै विद्यार्थीहरू यसै क्षेत्रमा भविष्य खोज्न प्रेरित भएका छन् । नेपालमा मेडिकल कलेजहरूको संख्या बढ्दै जानु र यहाँको मेडिकल शिक्षा स्तर पनि राम्रो हुँदै जानु भनेको स्वदेशमै विद्यार्थीहरूको आकर्षण बढाउने अर्को कारण बनेको छ । 

नेपालमा एमबीबीएस अध्ययनको लागि विद्यार्थीको संख्या बढ्दो क्रममा छ । विश्वविद्यालयमा सिमित कोटा भएका कारण सबै विद्यार्थीले एमबीबीएस अध्ययन गर्न पाएका छैनन् । 

चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने प्रवेश परीक्षामा ३० हजार भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेका छन् । मेडिकल शिक्षालाई अन्य विषयको तुलनामा सबैभन्दा महंगो शिक्षाको रुपमा लिने गरिन्छ । 

सरकारले चिकित्सा शिक्षालाई मध्यनजर गरी एमबीबीएस अध्ययन गर्न चाहने विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । 

काठमाडौँ उपत्यकाबाहिर एमबीबीएस पढ्न ४५ लाख ९५ हजार ७ सय २० रुपैयाँ तोकिएको छ । यस्तै, उपत्यकाभित्र ४१ लाख ६८ हजार ९० रुपैयाँ तोकिएको छ । नेपालमा चिकित्सा शिक्षा अन्तर्गत दन्त चिकित्सा (बीडीएस) विद्यार्थी माझ लोकप्रिय विषय हो । 

ब्याचलर अफ डेन्टल सर्जरी नेपालमा ५.५ वर्षको कार्यक्रम हुन्छ जसमा ४ वर्ष ६ महिनाको पूर्ण समय अध्ययन र १ वर्ष अनिवार्य इन्टर्नशिप गर्नुपर्ने हुन्छ । सूचना प्रविधि क्षेत्रको तिव्रतर विकासले नर्सिङमा आकर्षण बढेको र नेपालका विश्वविद्यालयले समयानुसार पाठ्यक्रम पनि परिमार्जन गर्दै लगिरहेको भएता पनि नर्सिङमा विद्यार्थीले आफ्नो भविष्य विदेशमा नै तय गर्न रुचाउँछन् । 

नेपालमा स्नातक तहमा नर्सिङ अध्ययन गर्न ८ लाख देखि १६ लाख रुपैयाँसम्म खर्च हुन्छ । चिकित्सा शिक्षाको नियामक निकाय चिकित्सा शिक्षा आयोगले स्नातक तहमा १४ वटा विषय अध्ययन गर्न विद्यार्थीलाई ७ हजार ६ सय ५९ सिट निर्धारण गरेको छ । 

स्वास्थ्य सेवाको मागलाई पूरा गर्न मेडिकल कलेजहरूमा सीटहरू बढाउने, छात्रवृत्तिको अवसरहरू वृद्धि गर्ने, र ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवाको लागि काम गर्न विद्यार्थीलाई प्रोत्साहित गर्ने नीति आवश्यक छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update