काठमाडौं । पछिल्लो समय युवापुस्ता रोजगारी तथा पढाईको सिलसिलामा विदेशीने क्रम बढ्दो छ । युवापुस्तामा विदेश मोह बढेसंगै मुलुकमा युवावर्गको संख्यामा कमी आउन थालेको छ ।
यसरी युवपुस्ता विदेश पलायनबाट युवावर्गको सख्ंयामा कमी आउनुका साथै ज्येष्ठ नागरिकहरू भावतात्मक रुपमा एक्लोपना समेत थालेको छ ।
घरपरिवार जीवनका एक अभिन्न अंग हुन् । घरपरिवारका सदस्यसंगै भएको अवस्थामा कुनै पनि दुख पीर जतिभए पनि त्यसलाई सहज पार गर्न सकिन्छ ।
तर त्यहि घर परिवारका सदस्य नभएर एक्लो जीवन विताउँनु परेको अवस्थामा भने यसले मानिस एक्लो हुनका साथै एक्लोपनका कारण विभिन्न समस्या निम्तने गर्दछ । यस्तै, एक्लोपनाका शिकार बनेका छन्,् काठमाडौंका जेष्ठ नागरिकहरु पनि ।
काठमाडौं महानगरपालिकाले हालै गरेको एक अध्ययनमा काठमाडौंमा बसोवास गर्ने ज्येष्ठ नागरिकहरू पछिल्लो समय समाजिक एक्लोपनको शिकार बन्दै गएका छन् । जसको प्रमुख कारण हो, छोराछोरी विदेश पलायन ।
पछिल्लो समय मुलकको आर्थिक, सामाजिक शैक्षिक अस्तव्यस्ताका कारण युवापुस्तामा विदेश जाने क्रम बढ्दै गएको छ ।
जसको असरका रुपमा छोराछोरी विदेश पठाउने २१ दशमलव ७ प्रतिशत ज्येष्ठ नागरिकमा भावनात्मक र सामाजिक एक्लोपना बढ्दै गएको अध्ययनले देखाएको छ ।
यस्तो छ महानगरपालिकाले गरेको अध्ययनको निचोड :
२१.७ प्रतिशत व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना
६२.३ प्रतिशतमा मध्यम खालको एक्लोपना
१५ प्रतिशतमा कुनै पनि खालको भावनात्मक एक्लोपना नभएको
सामाजिक एक्लोपनाका कोणबाट ४८ प्रतिशतमा उच्च एक्लोपना
२८.३ प्रतिशतमा मध्यम र २३.७ प्रतिशतमा शून्य एक्लोपना
छोराछोरी विदेशिएका ज्येष्ठ नागरिकको मानसिक स्वास्थ्य एक्लोपना र डिप्रेसनको अवस्था पत्ता लगाउन महानगरले सर्वेक्षण गरेको थियो । अध्ययनमा महानगरपालिकाभित्र बसोबास गर्ने ५८ वर्ष उमेर पूरा भएका ५ सय ९ जना ज्येष्ठ नागरिक सहभागी गरिएको थियो ।
काठमाडौं महानगरपालिकाले काठमाडौं भित्र वसोवास गर्ने ज्येष्ठ नागरिकमा गरेको अध्ययन एक उदाहरण मात्र हो । पछिल्लो समय मुलकबाट युवापुस्ता विदेशीने क्रम भयाभह बन्दै गएको छ ।
मुलकबाट युवापुस्ता बाहिरीदा गाउँगाउँमा मलामी जाने मानिसको नै अभाव हुने गरेका तथ्य समेत पछिल्लो समय सार्वजनिक हुन थालेको छ ।
परिवारका युवावर्ग रोजगारी तथा अध्यापनका लागि भन्दै विदेशपलायन हुने क्रम अहिले बढ्दै गएको दखिन्छ । अहिले दैनिक ३ हजारको हाराहारीमा युवापुस्ता विदेशीने गरेको देखिन्छ ।
जसको कारण अन्य समस्याका साथै अहिले घरपरिवारका सदस्यमा एक्लोपनाको समस्या बढ्दै गएको छ । विदेशमा गरिएका अध्ययन अनुसार कुनै पनि प्रकारको एक्लोपनाको शिकार भएका व्यक्तिमा मृत्युको खतरा समेत करिब ३० प्रतिशतले बढ्ने गर्दछ ।