काठमाडौं । विश्व प्रसिद्ध पञ्चवर्षिय महागढीमाई मेलाको शोभा यात्रा बिहिवार बाराको वरियापुरमा धुमधामका साथ निकालिएको छ । मेला भव्यरुपमा सम्पन्न गराउने उद्देश्यले बडादशैको पहिलो दिन घटस्थापनाको अवसर पारेर शोभा यात्रा निकालिएको हो ।
महागढीमाई मेलाको शोभायात्रा बिहिवार बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित महागढीमाई मन्दिरबाट निकालिएको हो ।
शोभा यात्रा बरियारपुर, ईनर्वा, बसतपुर हुँदै नेपाल–भारत सीमानजिक रहेको मटिअर्वा विशमरपुर, कलैया भरत चोक, गंजभवानीपुर–दहियार हुँदै गढीमाई मन्दिरमै आए समापन भएको थियो ।
यसवर्ष हुने गढीमाई मेलालाई लिएर बाराबासीमा उत्साह थपिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले बताए ।
प्रत्येक ५ वर्षमा १ पटक १ महिनासम्म लाग्ने शक्तिपिठ महागढीमाई मेलाको तयारी समेत सुरु भइसकेको छ ।
मेला मंसिर १ गतेबाट सुरु हुने गढीमाई मेला संचालन तथा मूल व्यवस्थापन समितिले जनाएको छ । यस वर्ष घटस्थापनादेखि नै मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्न थालेको गढीमाई मन्दिरका मूल पुजारीले बताए ।
मेलालाई सफल र भव्य बनाउन जिम्मेवार निकायहरु अहिलेदेखि नै आ–आफ्नो ठाउँबाट जुटिसकेका छन् । शोभा यात्रा गर्दै बाराबासीले मेलाको अवलोकन र गढीमाईको दर्शनका गर्न लागि आहवान गरेका छन् ।
शोभा यात्रामा बाराका १६ स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता सहित स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।