News 24 Television
दशैंका लागि बजारभर च्याङग्रा, बथानै ओराल्दै व्यापारी !

काठमाडौं । दशैं शुरु भएसँगै देशभर चहलपहल बढेको छ । घर बाहिर रहेकाहरु घर फर्किने क्रममा छन् भने कोही दशैंमा खानपानका सबै व्यवस्था मिलाउन व्यस्त देखिन्छन्  । 

दशैंमा मासुजन्य खानेकुराको खपत अन्य समयको तुलनामा धेरै नै हुन्छ । त्यसैले खसी, च्याङ्गालगायतको व्यापार पनि बढेको छ । दशै पर्वलाई नै लक्षित गरेर मुस्ताङबाट च्याङग्रा बजार पठाउन थालिएको छ ।  

दशैंमा मासु धेरै नै खपत हुने गर्छन् । मासुको प्रबन्धकै लागि खसी, चयाङ्गा्र आदिको किनबेच बढी रहेको छ । दशैं लक्षित गरि म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत ठाउँबाट च्याङग्रा खरिद गर्नका लागि मुस्ताङ पुगेका व्यापारीहरु फर्किन थालेका छन् । 

जडिवुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ । दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको खपत बढी हुुने गर्छ । 

भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका अनुसार छ हजारभन्दा बढी च्याङग्रा जोमसोम देखि म्याग्दीतर्फ झरेका छन् । 

यस वर्ष दशैका लागि मुुस्ताङबाट दश हजार च्याङग्रा बिक्री हुने अनुमान गरिएको छ । मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुई देखि तीन दिन हिडाएर ल्याएका च्याङग्रा बेनी देखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ । 

मुगु र डोल्पाको च्याङग्रा पनि मुस्ताङ हुदै बजार पठाउने गर्छन् । यसपाली गत वर्षको तुलनामा च्याङग्राको मूल्य सस्तिएको छ । दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यस वर्ष सस्तो भएको हो । 

च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य तिरेर च्याङग्रा खरिद गरेका ब्यापारी टसी छेवाङ गुरुङले यसपाली ३० देखि ३३ हजारमा किसानबाट खरिद गरेको बताउछन् । 

गतवर्ष बजारमा ल्याएको च्याङग्रा महंगी हुँदा बिक्री नभएर व्यापारीले नोक्सान व्यहोरेको गुनासो गरेका थिए। छेवाङ सहित डोल्पाका चार जना व्यापारी मुस्ताङ हुँदै पाँच दिन हिडेर दुई सय ५० च्याङग्रा बिक्री गर्न पोखरा पु¥याउदै छन् ।

 मुस्ताङका साथै डोल्पा र मुगुबाट ल्याइएका च्याङग्राहरु दसैमा बिक्रीका लागि म्याग्दी हुँदै देशका विभिन्न सहर बजारमा पुग्न थालेका छन् ।

तीन वर्ष पुरा भएका च्याङग्रा मासुका लागि बिक्री हुने गर्छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । 

उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो । वि.स. २०८० मा सात हजार, २०७९ मा छ हजार आठ सय, २०७८ मा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update