News 24 Television
६ वर्षमा पनि बन्न सकेन मिनी रंगशाला, फेरि निर्माण कम्पनी फेर्ने तयारी 

सिन्धुपाल्चोक । ३ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको मिनि रंगशाला ६ वर्ष पुग्दा पनि पूरा हुन सकेको छैन ।

पछिल्लो समय रंगशाला निर्माणले गति लिइरहेको भएपनि निर्माणका लागि म्याद थपको विषयमा कानुनी प्रक्रियाका कारण समस्या रहेको युवा तथा खेलकुद मन्त्रालयको आशय पछि रंगशाला अलपत्र पर्ने सम्भावना बढेको छ । 

६ वर्ष अघिसम्म सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको टुँडिखेल खेलकुद, महोत्सव र स्थानीयको जमघट अनि खेल अभ्यासको लागि प्रयोग हुँदै आएको थियो । 

२०७६ सालमा यस क्षेत्रका सांसद युवराज दुलाल तत्कालिन सामाजिक विकासमन्त्री हुँदा चौतारामा रंगशाला निर्माणको योजना संगै सम्झौता भएको थियो । 

चौतारा टुँडिखेललाई मिनी रंगशालाको रुपमा विकास गर्ने अवधारण ल्याएपछि राष्ट्रिय स्तरका प्रतियोगिता हुने र जिल्लाको पहिचान बढने भन्दै स्थानिय खुशी थिए । 

कछुवाको गतिमा निर्माण भइरहेको सिन्धुपाल्चोकबासीको गौरवको आयोजना २०८१ जेठ यता तिव्र गतिमा भईरहेको छ ।   

२०८० चैत्र २२ मा म्याद सकिएपनि १३ औं संसोधनको बुँदालाई टेकेर काम गरीरहेको निर्माण पक्षले म्याद नथप्दा भुक्तानी रोकिएकाले काम गर्न समस्या परेको बताएको छ । 

तीन वर्षमा सम्पन्न गर्ने गरी ४१ करोड ६२ लाख रुपैयाँमा गिरी कन्स्ट्रक्सन ललितपुरलाई निर्माणको ठेक्का दिएको थियो । ठेकेदार कम्पनीले विभिन्न बहाना देखाउँदै निमार्णाधीन रंगशाला अलपत्र बनाएका थिए । 

सम्झौताको मिति सकेर २ पटक गरी थपिएको म्याद अनुसार रंगशाला २०८० चैत्र २२ सम्म बनिसक्नु पथ्र्यो । तर थपिएको म्याद समेत सकिन लाग्दा रंगशाला ४० प्रतिशत मात्रै निर्माण भएको थियो । 

त्यसैल गिरी कन्ट्रक्सनले काम गर्न नसकको भन्दै पाटन र जेबी लिम्बु सुनकोशीलाई रंगशाला निर्माण सम्पन्न गर्ने आन्तरिक सहमतिमा जिम्मेवारी दिएको थियो । 

सुनकोशी गिरी जेबी कन्ट्रक्सनले ४५ जना कामदार खटाइ धमाधम काम गरेपछि अहिले ७० प्रतिशत भौतिक निमार्णको काम सम्पन्न भएको छ । ५ वटा प्याराफिट निर्माण सम्पन्न हँुदै छ भने २ मध्ये एक वाटर ट्याङ्की निर्माण भई रहेको छ । 

पार्किङ, टिकट काउन्टर र गा्रउण्डको संरचना बन्न बाँकी छ । यदि म्याद थप नगरेर नया टेन्डर प्रक्रियामा गयो भने रंगशाला सम्पन्न हुन झन बढी समय लाग्ने भन्दै सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । 

यदि १३ औं शंसोधनलाई टेकेर म्याद थप भएमा २०८२ को असार मसान्तसम्म काम सम्पन्न गर्ने निर्माण पक्षले दाबी गरेको छ । 

डीपीआरमा उल्लेख गरिए अनुसार रंगशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रंगशाला भित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ । 

बागमती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको काभ्रेपलाञ्चोककोे भैंसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन एकाइले रंगशालाको अवस्था बारे अनुगमन गरी फाईल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयमा पठाइसकेको भएपनि ठोस निर्णय हुन सकेको छैन । 

तोकिएको समयमा रंगशाला निर्माण सम्पन्न नहुँदा जिल्लामा खेलकुदका गतिविधि प्रभावित बनेका छन् । निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको सिन्धुपाल्चोकको गौरवको आयोजना मिनि रंगशालालाई अलपत्र पार्ने भन्दा यथासिघ्र सम्पन गराएर खेलकुद गतिविधि चलायमान बनाउन सरकारले भुमिका खेल्नुपर्ने जिल्लाबासी बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update