News 24 Television
प्रशोधित जारको पानीमै भेटिन्छ दिसामा पाइने जीवाणु 

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले घर घरमा खानेपानीको धारा पु¥याएको छ । तर पछिल्लो समय भने धाराको पानी विभिन्न प्रयोजनमा प्रयोग गरिने भए पनि पिउनका लागि भने प्रशोधित जारको पानी प्रयोग गर्ने गरिएको छ । 

हरेक घरघरमा झारिने प्रशोधित जारको पानी पिउन योग्य छन् त ? शुद्ध खानेपानीको ट्याग लागेकै भरमा ढुक्क भएर पिउने गरिएको जारको पानीमा पनि कैफियत देखिएका छन् । 

पछिल्लो समय काठमाडौं उपत्यकाका साथै देशका अधिकांश शहर बजारमा जारको पानी प्रयोग बढ्दो छ । घर, कार्यालय होस् वा कुनै पनि समारोहमा खानेपानीका लागि प्रशोधित जारको पानीको प्रयोग गर्ने गरिन्छ । 

प्रशोधित गरीएका जारका पानी शुद्ध हुने विश्वासमा हामीले ढुङ्कसँग पिउने गरेका छौं । तर प्रशोधित गरिएको भनिएका यस्ता पानी पनि प्रदुषित भेटिएको छ । आइतवार काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा विभिन्न ११ व्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएको तथ्य सार्वजनिक भएको छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको काठमाडौ महानगर पालिकाको भनाई छ । 

महानगरका अनुसार क्वा डिवीमा ५, अक्वामा १७, व्याच नं. दुई सयको क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र व्याच नं. ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट भेटिएको छ ।

हालै काठमाडौं महानगरपालिकाले प्रशोधित जारको पानीमा प्रदुषित भेटिएको एक उदाहरण मात्र हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्यांक अनुसार विभागमा दायर भएको मुद्दामध्ये सबैभन्दा बढी पानीकै देखिन्छ । 

तथ्यांक अनुसार ०८०÷८१ मा १ सय ७८ मुद्दा दायर भएकोमा प्रशोधित पिउने पानीको मात्रै ४५ मुद्दा छन् । प्रशोधित पानीको परीक्षण गर्दा जारको पानीमा मुख्यतः कोलिफर्म नै देखिने गरेको छ ।

कोलिफर्म मानिस र जनावरको दिसामा पाइने एक खालको जीवाणु हो । जुन नाङ्गो आँखाले देख्न सकिदैन, निकै घातक हुने गर्दछ । यसको संक्रमणका कारण बान्ता हुने, ज्वरो आउने, झाडापखाला, हैजा जस्ता जटिल समस्या उत्पन्न हुने चिकित्सकहरु बताउँछन् ।  

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिकाको परिच्छेद २ अनुसार प्रशोधित पानी उत्पादन गर्ने स्थानका कामदारको व्यक्तिगत सरसफाइका विषयमा प्रष्ट पारेको छ । 

जसमा कर्मचारीले ‘प्रशोधन क्षेत्रमा प्रवेश गर्नुपूर्व साबुनपानीले हात धुने र बुट, एप्रोन, मास्क र हेडनेट लगाएर मात्र प्रवेश गर्नुपर्ने उल्लेख छ । 

साथै भौतिक पूर्वाधार तथा सुविधा सम्बन्धी निर्देशनमा ‘प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ, भण्डारण, पूर्व प्रशोधन, पानी प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार सफा गर्ने कक्ष, बोतल, जार तथा पुनः प्रयोग गर्ने जार भण्डारण कक्ष तथा प्रयोगशालाका लागि छुट्टाछुट्टै स्थान व्यवस्था गर्नुपर्ने उल्लेख छ । तर केहि प्रशोधित पानी उद्योगहरु बाहेक अधिकांश पानी उद्योगहरुले यस्ता निर्देशन पालन गरेको देखिदैन । 

जसका कारण पनि प्रशोधित भनिएको शुद्ध पानी नै प्रदुषित हुने गरेका हुन् । हामीले प्रशोधित शुद्ध पानी भएको विश्वासमा प्रयोग गर्ने गरिएको यस्ता पानीकै कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुने गरेका छन् । 

त्यसैले यस्ता प्रशोधित जारको पानी प्रयोग गर्नुपूर्व उपभोक्ता पनि सचेत र जागरुक हुन आवश्यक छ ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update