News 24 Television
क्षेप्यास्त्र प्रहार गरेर इरानले भूल गरेको इजरायलको चेतावनी 

काठमाडौं । इरानले इजरायलमाथि मंगलवार राति क्षेप्यास्त्र प्रहार गरेपछि मध्यपूर्वमा थप तनाव बढ्ने सम्भावना देखिएको छ । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले हमास प्रमुख, हिजबुल्लाह महासचिव र आईआरजीसीका एक वरिष्ठ कमाण्डर लगायतका नेताहरूको हत्याको बदलास्वरूप इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेको हो । इजरायलले बुधवार राति इरानमाथि आक्रमण गर्ने प्रतिपद्धता जनाएपछि कस्तो जवाफी आक्रमण हुन्छ सर्वत्र चासोको विषय बनेको छ । 
 
इरानले इजरायलतर्फ प्रहार गरेको झण्डै १८० वटा क्षेप्यास्त्रमध्ये अधिकांशलाई इजरेली हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गरिदिएको दाबी इजरेली सेनाले गरेको छ । इरानले केही शैन्य अखडामा गरेको हमलाले केही रेस्टुराँ र विद्यालयमा समेत क्षति पुगेको छ । 

इजरायल अधीनस्थ वेस्ट ब्यांकको जेरिको क्षेत्रमा एकजना प्यालेस्टिनी पुरुष मारिएको इजरेल डिफेन्स फोर्सेस आइडिएफका प्रवक्ताले जनाएका छन् । यद्यपी एकैदिनको आक्रमणपश्चात इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायलविरुद्धको सैन्य कारबाही सकिएको बताएका छन् । 

इरानले आक्रमण सकिएको बताएपनि अब इजरायलले कस्तो जवाफी प्रतिक्रिया दिन्छ त्यस विश्वकै ध्यान खिचिएको छ । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानले ठूलो गल्ती गरेको बताउँदै त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिइसकेका छन् । 

इरानी क्षेप्यास्त्र प्रहार भएको केही घण्टामै इजरायली वायू सेनाले लेवनानको बेरुतमा हिज्बुल्लाह लक्षित आक्रमणलाई झन शसक्त बनाएको छ । लाखौँ नागरिकलाई सुरक्षाका लागि बंकरसम्म पुग्नेगरी इरानबाट आक्रमण भएको भन्दै इजरायलका साझेदार देशहरुले इरानको निन्दा गरेका छन् । 

उता, इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायलमाथिको आक्रमणलाई इरानको वैध अधिकार बताउँदै यसलाई अरब क्षेत्रको शान्ति र सुरक्षाका लागि गरिएको भनेका छन् । भूगोलले नजोडिएका कारण इरान र इजरायलबीच युद्ध चर्किहाले कस्तो हुन्छ भन्ने विश्वव्यापी जिज्ञासा छ । 

२१ सय किलोमीटर टाढा रहेका कारण दुवै देशका सेना प्रत्यक्ष होमिएर युद्ध गर्ने सम्भावना कम छ । तर दुवै राष्ट्रबीच युद्ध चर्किए क्षेप्यास्त्र, ड्रोन र हवाई हमला हुन सक्ने भएकाले यसबाट धेरै सर्वसाधारण हताहत हुने सम्भावना छ । 

इजरायलको साथमा को को ? 

इरानको आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि अमेरिकी साथ निरन्तर रहेको उद्घोष गरेका छन् ।ब्रिटिश प्रधानमन्त्री सर किअर स्टार्मर र जर्मनी चान्सलर ओलाफ सोल्जले पनि इरानी आक्रमणको निन्दा गरेका छन् । त्यसैगरी फ्रान्स र जापानले आक्रमणको निन्दा गर्दै दुवै पक्षलाई अवस्था थप नचर्काउन आग्रह गरेका छन् भने संयुक्त राष्ट्रंघ र युरोपेली युनियनले युद्धविरामको माग गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update