काठमाडौं । नेपालमा पछिल्लो समय खेल क्षेत्रमा विभिन्न प्रतियोगिताहरु हुँदै जाँदा खेल गतिविधि समेत बढ्दै गइरहेको छ । खेल गतिविधि बढ्दा खेलाडीहरुको दक्षता मात्रै बृद्धि भएको छैन, व्यवसायिकता पनि भित्रिरहेको छ ।
केही वर्षयता नेपालमा क्रिकेट खेलका फ्रेन्जाइजी प्रतियोगिताहरुको संख्या बढ्दै गएको छ । यसमा नेपाल प्रिमियर लिग एनपिएल पनि एक हो ।
यसवर्षको एनपिएलका लागि नेपाल क्रिकेट संघले आठओटा टीमका मालिकको नाम सार्वजननिक गरेको छ । टीमका मालिकसँगै आठै वटै टीमको लोगो समेत सार्वजनिक गरिएको छ । जसमध्ये काठमाडौं गुर्खाजका टिम मालिकमा कैलाश सिरोहिया, उपेन्द्र महतो र अरूण सराफ रहेका छन् ।
पोखरा एभेन्जर्स नेपालको मालिकमा सुवोध त्रिपाठी र मनोबल श्रेष्ठ रहेका छन् । चितवन मेडिकल कलेजले किनेको चितवन राइनोजका टिम मालिक हरिशचन्द्र न्यौपाने र आयुश न्यौपाने हुन् । विराटनगर किंग्सका मालिक पारस लुनियाँ हुन् । कम्पनीको नाम एमएडी ड्रीम्स रहेको छ ।
लुम्बिनी लायन्सका टिम इश्वर जीसीले फर्चुन हेल्थ केयर कम्पनीको नाममा किनेका हुन् । ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले जनकपुर बोल्ट्स खरिद गरेका हुन् । हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरेले कर्णाली याक्स किनेका हुन् ।
यस्तै सुदूरपश्चिम रोयल्स स्वतन्त्र प्रताप शाहले किनेका हुन् ।अम्पायर स्पोर्ट्सले सुदूरको टिम खरिद गरेको छ । टिम मालिक सार्वजनिकसँगै अधिकांश टिमका मालिकहरूले क्रिकेटमा लगानी गर्नुलाई देशप्रतिको जिम्मेवारीको रूपमा लिएको बताए । धेरैले यो शुरूवातको लागि क्यान नेतृत्वलाई धन्यवाट दिए ।
मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने लिगको चर्चा अहिले निकै चुलिएको छ । यसअघि क्यानले मार्की खेलाडीले जनही २० लाख प्राप्त गर्ने घोषणा गरेको थियो ।
आठ टिमले टिम खरिदका लागि १६ करोड ८८ लाख ९३ हजार २३१ रूपैयाँ खर्चेका थिए । व्यवसायिक घराना क्रिकेटमा भित्रिनुलाई खेल क्षेत्रले सकरात्मकरुपमा लिएको छ ।