काठमाडौं । दशैंतिहार जस्ता महत्वपूर्ण चाडबाडका बेला बजार निकै चलायमान हुन्छ । यहि बेलाको ब्यापार ब्यवसायले वर्षभरीको निराशालाई चिर्ने गर्छ ।
यातायात क्षेत्र होस् वा बजारमा ब्यापार बढ्यो भने दशैंमा जस्तो भन्ने गरिन्छ । तर यसपाली भने दशैं लागि सक्दा समेत बजार सून्यजस्तै रहेको ब्यापारीहरुले बताइरहेका छन् ।
खास गरी तीज, जनैपूर्णिमा लगायतका चाडबाड शुरु भएपछि बजार पनि चलायमान हुन थाल्छ । दशैंको पेरिफेरिमा आइपुग्दा ब्यापारीहरुलाई भ्याइनभ्याई नै हुन्छ । बडा दशैंलाई नै लक्षित गरी ब्यापारीहरुले त्यही किसिमको लगानी पनि बढाइरहेका हुन्छन् ।
दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य संस्थान र साल्ट ट्रेडिङहरुले सुपथ मूल्यका पसलहरुसमेत सञ्चालन गरिसकेका छन् ।
दशैंतिहारलाई लक्षित गरेर काठमाडौंको न्यूरोड, असन, महाबौद्ध, क्षेत्रपाटी, भोटाहिटी लगायतका मुख्य क्षेत्रमा केही दिनअघि नै मालसामानहरु ल्याउनमा होलसेल ब्यापारीदेखि भरियासमेत ब्यस्त देखिएका थिए । तर यतिबेलासम्म बजार भने सुनसान जस्तै छ ।
त्यसैले यो दशैंमा बजार चलायमान हुने नदेखिएको भन्दै ब्यवसायीहरु चिन्तित बनेका छन् । बजारमा बैंकिङ समस्या, सरकारको कर नीति लगायतको कारणले पनि बजार चलायमान हुन नसकेको उनीहरुको भनाई छ ।
मुलुकको राजनीतिक अस्थिरताका कारण युवाहरुले देशमा भविष्य देखिएका छैनन् । उपभोग गर्ने युवाहरु दैनिक हजारौंको संख्यामा विदेश पलायन भइरहेका छन् । कोभिड संक्रमणको समयदेखि शुरु भएको मन्त्री अहिले चरम विन्दुमा पुगेको राष्ट्रिय ब्यापार संघका पूर्व अध्यक्ष सरोजकुमार श्रेष्ठ बताउँछन् ।
यो मनसुन सकिएर घमाइलो हुने बेला हो । असारमा लगाएका अन्नबाली भित्राउनेबेला पनि अब शुरु भएको छ । तर दशैंकै मुखमा अहिले मनसुन जारी छ । ब्यापारमा ब्यस्त रहनुपर्ने ब्यापारीहरु बाढीपहिरोको समस्यामा छन् ।
बाढीले सडकहरु बढाउँदा तातोपानी र केरुङ नाका भएर सामानहरु ल्याउन समस्या भएको छ र त्यसैलो विगतका दशैँको तुलनामा यस वर्ष १० प्रतिशत पनि व्यापार नहुने चिन्ता उनीहरुलाई छ ।
भन्सारदेखि स्थानीय कर, घरभाडा, ढुवानी तथा बजारमा अप्रत्याशित मूल्यवृद्धिका कारण पनि उपभोक्ताहरु किनमेल गर्न तयार देखिदैनन् ।
दशैँमा मनग्गे व्यापार ब्यवसाय हुने अपेक्षामा ब्यापारीहरुले यतिबेला ऋण गरेर गरेर नै पसल भरिरहेका छन् । तर दशैंतिहार जस्ता महत्वपूर्ण चाडमा पनि ब्यापार भएन भने युवाहरु मात्र होइन, ब्यापारीहरु पनि ब्यापार छाडेर विदेश पलायन हुने अवस्था नआउला भन्न सकिदैन । त्यसैले ब्यापारीदेखि उपभोक्ताको समेत हितमा हुने गरी काम गर्न जरुरी छ ।