सर्लाही । अबिरल वर्षाका कारण आएको बाढीले बागमती नदीको बाँध फुटेर बस्तीमा पस्दा सर्लाहीको बलरा र बरहथवा नगरपालिका तथा रामनगर, बसबरिया र धनकौल गाउपालिकाका विभिन्न गाउँहरु डुबानमा परेको छ ।
पानी रोकिएको ३ दिन बितिसक्दा समेत बलरा नगरपालिकाको वडा नं ३ लक्ष्मीपुरको दर्जनौ घरधुरी अझै डुबानमै छ । घरहरु अझै डुबानमा रहेका कारण छिमेकीको घरमा बास बस्नुपर्ने बाध्यता उनीहरुलाई छ ।
असोज ११ र १२ गते परेको भीषणा वर्षाका कारण आएको बाढीले सर्लाहीका दर्जनौ बस्ती डुवानमा छन् । बागमती नदीको बाँध फुटेर बस्ती डुवान परेका हुन् । करिब १ सय भन्दा बढि घर डुबानमा रहेको लक्ष्मीपुरका पीडितहरुको विचल्ली भएको छ ।
बाढीले घरको अन्नपात सबै तहसनहस बनाएको छ । डुबानका कारण ४, ५ वटा घरका परिवार विभिन्न ठाउँमा आश्रय लिएर बसिरहेका छन् । तर उनीहरुले तत्कालका लागि आवश्यक पर्ने त्रिपालसमेत पाउन सकेका छैनन् ।
बाढीपीडितको अस्थायी बसोबासमा स्थानीय तहले समेत ध्यान दिएका छैनन् । घरहरु अझै डुबानमै छ । घर डुबानका कारण घरमा फर्किने अवस्था छैन । पानी कम भइ घर मर्मत गर्न कम्तीमा १५ बीस दिन लाग्ने भएकोले यतिका दिन कसरी बस्ने भन्ने उनीहरुलाई पिरलो छ ।
बाढीका कारण घर पुर्णरुपमा क्षति भएको अवस्थामा पनि तीनै तहको सरकारले पीडा नबुझेको पीडितहरुको गुनासो छ । गत विहीबारदेखि शनिवारसम्म भारी वर्षापछि सर्लाहीमा बागमती नदीले बालीनालीमा पनि उत्तिकै क्षति पु¥याएको छ । बाग्मती नदीको बाढीका साथै लखनदेही, मनुस्मारा, झीम र फुलजोर खोलाले पनि उत्तिकै बिताण्डा मच्चायो । तर जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने क्षतिको विवरणको तथ्यांक संकलन गरि बढी क्षति भएका क्षेत्रमा राहत वितरण भइरहेको बताएको छ ।
सबै क्षतिको तथ्यांक संकलन भईसकेपछि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर राहत तथा पुर्नस्थापनाका लागि पहल गरिने स्थानीय प्रशासनले जनाएको छ ।
बाढीले सर्लाहीको बलराका साथै बरहथवा, इश्वरपुर र मलंगवा नगरपालिका तथा रामनगर, बसबरिया, कौडेना र चक्करघटा गाउपालिकाका दर्जनौ बस्तीहरु डुबानमा परेका छन् । बाढीले सर्लाहीमा ३ जनाको मृत्यु हुनुका साथै २ सय ३६ घर पुर्णरुपमा क्षति भएका छन् भने ५ सय ३९ घर आंशिक क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्रारम्भीक तथ्यांक अनुसार, बाढीले १३ सय ६९ घर डुबानमा परेको छ ।